पर्सा — कृषि सामाग्री कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जमा तातोपानी नाकाबाट भित्रिएको युरिया मल बुधबारदेखि आउन थालेको छ । उत्तरी छिमेकी चीनसँग जोडिएको तातोपानी नाका हुँदै भित्रिएको मल पहिलो पटक दक्षिणी नाकास्थित मधेश प्रादेशिक कार्यालयमा आएको कार्यालयका बरिष्ठ सहायक बलबहादुर शाहले जानकारी दिए ।
‘हाल सम्म भारत तथा तेश्रो मुलुकबाट आउने मल भारतीय बन्दरगाहहरु हुँदै वीरगन्ज नाकासम्म आउँथ्यो,’ शाहले भने, ‘कार्यालयको इतिहासमा पहिलो पटक उत्तरी नाकाबाट भित्रिएको मल बुधबार आएको छ ।’ बुधबार ९ वटा कन्टेनरमा आएको युरिया मल कम्पनीको वीरगन्जस्थित भुटन देवी गोदाममा भण्डारण गरिएको छ ।
सिल्क/सिनोम्याच/ग्लोबल म्याट्रिक्स/बिआइडिएच ज्वाइन्ट भेन्चरको कम्पनीले चीनबाट आयात गरी युरिया मल ल्याइरहेकोछ । यो कम्पनीले ग्लोबल टेण्डरबाट मल आपूर्तिको ठेक्का पाएर कृषि सामाग्री कम्पनीसँगको ठेक्का नम्बर १०१ को सम्झौता अनुसार मल ल्याउँदै गरेको हो ।
‘यो सम्झौता आर्थिक बर्ष २०७८/२०७९ कै हो,’ उनले भने, ‘कम्पनी केन्द्रीय कार्यालयबाट यस बर्षको कात्तिक महिनामा प्रादेशिक कार्यालयमा मल आउने बारे पत्र प्राप्त भएको थियो, ढिलो गरी यो मल आएको रहेछ ।’
केन्द्रीय कार्यालयबाट प्राप्त पत्र अनुसार, यो कन्साइन्मेन्ट अन्तर्गत कूल ३ हजार ५ सय मेट्रिक टन युरिया मल चीनबाट आउन लागेकोमा त्यसमध्ये २ हजार मेट्रिक टन वीरगन्ज प्रादेशिक कार्यालय, ८ सय मेट्रिक टन बिराटनगर र ७ सय मेट्रिक टन भैरहवा प्रादेशिक कार्यालयले पाउनेछन् ।
कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयमा बुधबार ४ हजार ४ सय ८२ मेट्रिक टन युरिया, ३ हजार ४ सय ६२ मेट्रिक टन डिएपी र २८ मेट्रिक टन पोटास मलको मौज्दात रहेको शाहले जानकारी दिए ।
एक महिना यता स्विस सिंगापुर र आदित्य बिरला कम्पनीले कन्साइन्मेन्ट नम्बर ११५ र १२१ को युरिया मल धमाधम वीरगन्ज नाका हुँदै ल्याइरहेको र प्राप्त मल प्रादेशिक कार्यालयबाट माग भएका जिल्लाहरुमा नियमित रुपमा परिचालन समेत भई रहेकाले गहुँ बालीका लागि मलको अभाव नभएको शाहले दाबी गरे ।
स्विस सिंगापुर कम्पनीले ल्याई रहेको कूल ३० हजार मेट्रिक टन युरिया मल मध्ये कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयले १२ हजार, भैरहवा प्रादेशिक कार्यालयले १० हजार र बिराटनगर प्रादेशिक कार्यालयले ८ हजार मेट्रिक टन मल पाएका छन् । बिराटनगरको मल बिराटनगर नाकाबाटै भित्रिँदै छ ।
त्यसैगरी, आदित्य बिरला कम्पनीले ल्याई रहेको ३० हजार मेट्रिक टन युरिया मल मध्ये वीरगन्ज प्रादेशिक कार्यालयले ११ हजार ८ सय, भैरहवा प्रादेशिक कार्यालयले ९ हजार ५ सय र बिराटनगर प्रादेशिक कार्यालयले ८ हजार ७ सय मेट्रिक टन मल पाएका छन् ।