सप्तरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्यानिटरी प्याड खरिद गर्ने क्रममा ८ लाख ७४ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरीसहित लेखा अधिकृत श्याम सुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारको स:शर्त अनुदान तर्फ प्याड वितरणका लागी बजेट विनियोजन भएकोमा गाउँपालिकाले मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मुल्यभन्दा दुई गुणा बढी रकममा खरिद गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान गर्दा उनीहरुले मिलेमतोमा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
उनीहरुले खरिद कार्य गर्दा सार्वजनिक खरिद ऐन,२०६३ र सार्वजनिक खरिद नियमावली,२०६४ नियम ११ बमोजिम मालसामानको लागत अनुमान तयार गर्ने तथा लागत अनुमान तयार गर्दा स्थानीय बजार प्रचलित दरभाउ समेतलाई आधारको रुपमा लिई गर्नुपर्नेमा उक्त कानुनी व्यवस्थाको पालना नगरी ९ लाख ११ हजार ९ सय पच्चीस रुपैयाँ पर्ने जस्मिन हाइजिन प्रोड्रक्ट प्रा.लि., मोरङद्वारा उत्पादित स्यानिटरी प्याडलाई १७ लाख ८५ हजार ९ सय २८ रुपैयाँमा खरिद गरेको अख्तियारले जनाएको छ ।
आयोगले उनीहरुले ८ लाख ७४ हजार तीन रुपैयाँ बराबरको रकम अस्वाभाविक रुपमा बढी मूल्य तिरि गाउँपालिकालाई हानिनोक्सानी पुर्याउने बद्नियतले प्रोप्राइटर ललिता कुमारी साहलाई भुक्तानी दिएको पुष्टि भएको बताएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) खण्ड (ञ) बमोजिमको कसुरमा बिगो ८ लाख ७४ हजार ३ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
साथै प्रोप्राइटर ललिता कुमारी साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानेर मुख्य कसुरदारहरुलाई हुने सजाय सरह सजाय गरी बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको प्रवक्ता घिमिरेले बताए । प्रोप्राइटर साह नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य हुन् ।