वीरगञ्ज । वीरगञ्जमा जारी नेशनल ईन्फोटेक (एनआई) क्रिकेट कपको उपाधि आयोजक नेशनल ईन्फोटेक कलेजले हात पारेको छ । एनआईले लगातार दोस्रो वर्ष पनि उपाधि आफ्नो हातमा पारेको हो । यसअघि गत वर्ष भएको संस्करणको विजेता पनि एनआई कलेज नै हो ।
शनिवार सम्पन्न फाइनल खेलमा ग्लोबल बिजनेस कलेजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै एनआईले उपाधि चुमेको हो । टस जितेर ब्याटिङ् रोजेको एनआईले पहिलो इनिङ्समा निर्धारित २० ओभर पूरा हुन १ बल बाँकी छँदै सबै विकेट गुमाएर १०८ रन बनाएको थियो ।
जसका लागि राहुल हकले सबैभन्दा धेरै रन बनाए । उनले ३२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३२ रन बनाए । सफवान अलीले १९ बलमा ५ चौकाको सहयोगमा २५ रन बनाए । वासिम अली मन्सुरीले ३० बलमा २० रन बनाए ।
ग्लोबल बिजनेसका आदर्श भण्डारी, रोहन कुमार साह, अनुज कुमार पटेल र विवेक यादवले समान २/२ विकेट लिए । सुजल सर्राफले १ विकेट लिए ।
१०९ रनको लक्ष्य पछ्याएको ग्लोबल बिजनेस कलेजले १४.१ ऋोभरमा सबै विकेट गुमाउँदै ४७ रनमै समेटियो । ग्लोबललाई उपाधि चुम्नबाट रोक्नका लागि एनआईका वासिम अली मन्सुरीले ३ विकेट लिए । ३ ओभर बलीङ् गरेका उनले ११ रन खर्चिए ।
अर्बाज अन्सारीले पनि ३.१ ओभर बलीङ् गरेर १० रन खर्चिदै ३ विकेट लिए । अर्बाज हुसैनले ४ ओभरमा १२ रन दिँदै २ विकेट लिए भने एमडी सरिफ अन्सारीले १ विकेट लिए । फाइनल खेलको प्लेयर अफ दी म्याच नेशनल ईन्फोटेकका वासिम अली मन्सुरी घोषित भएको एनआई कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए ।
२०७८ सालमा सम्पन्न एनआई क्रिकेट कपको उपाधि सत्यम स्कुलले जितेको थियो ।