वीरगन्ज । गोतामे पत्रकारिता पुरस्कार–२०८० यस वर्ष कास्की जिल्लाको पोखरा महानगरपालिका निवासी पुराना पत्रकार बद्री विनोद प्रतीक (खनाल)लाई प्रदान गर्ने निर्णय भएको छ ।
पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानको शनिवार सम्पन्न बैठकले यस वर्षको पुरस्कार प्रतीकलाई प्रदान गर्ने निर्णय भएको सचिव हिमालचन्द्र गौतमले जानकारी गराएका छन् । प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले पत्रकार गोपालचन्द्र गौतमको पुण्यतिथि फागुन २ गते पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
पत्रकार प्रतीक पाँच दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहँदै आएका छन् । २०३१ सालदेखि उनी अभियान साप्ताहिकबाट पत्रकारिता गर्दै आएका र अहिले पोखरा हटलाइनको प्रधानसम्पादक हुन् भने कास्की जिल्लाका विभिन्न क्याम्पसमा पत्रकारिता अध्यापन गराउँदै आएका छन् ।
स्व गौतमको सम्झनामा प्रतिष्ठानले २०६८ सालदेखि यो पुरस्कार निरन्तर वितरण गर्दै आएको छ । पहिलो पुरस्कार रु १० हजार राशिबाट शुरू भएको पुरस्कार २०७२ सालदेखि आधा तोला सुनको तक्मामा परिणत भएको थियो भने २०७५ सालदेखि एक तोला सुनको तक्मामा परिणत भएको छ ।
अहिलेसम्म यो पुरस्कार मकवानपुरका प्रताप विष्ट, विराटनगरका मोहन भण्डारी, बुटवलका डिआर घिमिरे, राजविराजका स्व शिवहरि भट्टराई, झापाका स्व मदन ढकाल, पाल्पाका मेघराज शर्मा, सप्तरी (कञ्चनपुर)का भोला पासवान, भैरहवाका अर्जुन ज्ञवाली, झापाका केशव आचार्य, धनुषाकी मनिका झाले प्राप्त गरिसकेका छन् ।