वीरगंज । झरना साहित्यिक परिवार, वकैया, मकवानपुरले यस वर्षको पत्रकारिता पुरस्कार रामकुमार एलनललाई प्रदान गर्ने भएको छ । सोमबार झरनाले हेटौँडामा पत्रकार सम्मेलन गर्दै ११ हजार १ सय ११ रुपैयाँ राशिको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८०, एलनलाई प्रदान गर्ने निर्णय गरेको हो । एलन समाजवादी प्रेस संगठन नेपालका महासचिव एवम् मधेशदृष्टि राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक हुन् ।
यस्तै, झरनाले साहित्य विधाका विभिन्न पुरस्कारहरु पनि घोषणा गरेको छ । २१ हजार १ सय २१ रुपैयाँ राशिको होमनाथ–टीकामाया प्रतिभा सम्मान काठमाडौँकी डा. गीता त्रिपाठीलाई प्रदान गर्ने भएको छ । १५ हजार ५ सय ५५ रुपैयाँ राशिको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान मोरङका बाबुराम पोखरेललाई प्रदान गरिने भएको छ ।
१५ हजार ५ सय ५५ रुपैयाँ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान मकवानपुरका साम्ब ढकाललाई दिइने भएको छ । ७ हजार ७ सय ७७ रुपैयाँ राशिको खडानन्द–मनमाया प्रतिभा सम्मान स्याङ्जाका मिलन समीरलाई दिइने भएको छ । ७ हजार ७ सय ७७ रुपैयाँ राशिको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान मकवानपुरकी गजलकार बिमला कार्की ‘सुसं’लाई दिइने बताइएको छ । ७ हजार ७ सय ७७ रुपैयाँ राशिको सञ्जीवनि बुटि साहित्य सेवा सम्मान भरत प्रसाद सापकोटालाई प्रदान गरिने भएको छ ।
वकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले स्थापित ५ हजार ५ सय ५५ रुपैयाँ राशिको झरना–बकैया नवप्रतिभा पुरस्कार गजलकार अजर फुयाँललाई दिइने भएको छ । वकैयामा कला क्षेत्रमा योगदान गरेवापत प्रदान गर्न स्थापित ७ हजार ७ सय ७७ रुपैयाँ राशिको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान बाँसुरी बादक विष्णु घतानीलाई दिइने भएको छ ।
पुरस्कार फागुन १२ गते वकैया–८ शिखरपुरमा हुने झरना साहित्यिक महोत्सवमा दिइने छ । फागुन ११ र १२ गते महोत्सव आयोजना साहित्य र अन्य विषयमा छलफलसमेत हुने बताइएको छ । कार्यक्रममा झरनाका अध्यक्ष विश्वनाथ सञ्जेल, उपाध्यक्ष चिरञ्जीवी लामिछाने, सचिव मसान उपासक, संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, संरक्षक जनार्दन खनालको उपस्थिति थियो ।