पर्सा । पर्साका १४ वटै स्थानीयतहका उपप्रमुख र उपाध्यक्षहरुले गठन गरेकोडिप्टी मेयर क्लबको भेला सम्पन्न भएको छ । डिप्टी मेयर क्लबका अध्यक्ष पटेर्वासुगौली गाउँपालिका उपाध्यक्ष ममता चौधरीको अध्यक्षतामा भएको भेलाले केहि प्रतिबद्धता जारी गर्दै बुधबार पर्साको सखुवा प्रसौनी गाउँपालिकाको सभाहलमा भेला सम्पन्न भएको हो ।
पालिकाबीच सिकाइ आदानप्रदान र आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्नका लागि टेवा पुर्याउन उद्देश्यले उपप्रमुख तथा उपाध्यक्षहरुको डिप्टी मेयर क्लब बनाइएको हो । डिप्टी मेयर क्लबको बैठक हरेक महिनामा गर्ने र विभिन्न एजेन्डामा छलफल तथा निर्णय गर्ने बताइएको छ ।
पहिलो महिनाका लागि डिप्टी मेयर क्लबको संयोजकमा ममता चौधरीलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । डिप्टी मेयर क्लबमा १४ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु सदस्य रहेका छन् ।
उपप्रमुखहरुमा बिन्दबासिनी गाउँपालिकाका उपाध्यक्ष ज्योती चौरसिया , पकहामैनपुर गाउँपालिकाका सर्फुन नेषा , छिपहरमाई गाउँपालिकाका लीला साह कानु , ठोरी गाउँपालिकाका गोकुली कुमारी रेग्मी , सखुवा प्रसौनी गाउँपालिकाका सर्मिला विष्ट , बहुदरमाई नगरपालिकाका शुष्मा कुशवाहा , पोखरीया नगरपालिकाका रुबी कुमारी ठाकुर , जिराभवानी गाउँपालिकाका रेखा कुमारी चौधरी , कालिकामाई गाउँपालिकाका राजमति बडईन , पर्सागढी नगरपालिकाका पूजा चौधरी , जगनाथपुर गाउँपालिकाका बबिता सिंह क्षेत्री , धोबिनी गाउँपालिकाका मञ्जु देवी रहेका छन् । त्यस्तै डिप्टी मेयर क्लबको सल्हकारमा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम रहेका छन् ।
जिल्लाका उपप्रमुखर उपाध्यक्षहरुको डिप्टी मेयर क्लब निर्माण गर्दै आपसमा सिकाइ आदानप्रदान प्रकृयालाई निरन्तरता दिनेछौं । डिप्टी मेयर क्लबमा आलोपालो प्रणाली अनुसार संयोजकको चयन गर्नेछौँ । बैठकको समन्वय डिप्टी मेयर क्लबको संयोजक मार्फत हुनेछ । डिप्टी मेयर क्लबको बैठकमा आएका सामुहिक अनुभव र निष्कर्षलाई आ–आफ्ना पालिकाका कार्ययोजनामा समावेश गरेर अघि बढ्नेछौं ।
आ–आफ्ना पालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण गरेर कार्यान्वयन गर्नेछौं, उक्त नीति बनिसकेका पालिकामा त्यसको प्रभावकारी कार्यान्वयन गर्नेछौँ । साथै, अन्य कानून, नीति, नियमावली, कार्यविधि, निर्देशिका पनि आवश्यकताका आधारमा निर्माण गर्न तदारुकताका साथ अगाडि बढ्नेछौँ ।संघ सरकार, प्रदेश सरकार र आ–आफ्ना स्थानीय सरकारले बनाएका ऐन, नियम नीति, कार्यविधि र निर्देशिका गहिरो अध्ययन गर्नेछौँ, आ–आफ्ना स्थानीय सरकारका कानून, नीति र कार्यविधि उपयुक्तता र आवश्यकताका आधारमा संशोधन गरी अघि बढ्ने छौँ ।
योजना तथा बजेट तर्जुमा गर्दा लैंगिक उत्तरदायी बजेटको अवधारणा अनुसार तर्जुमा गर्नेछौं । हरेक बर्ष आ–आफ्ना पालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण अवस्थाको परीक्षण गरी त्यसको नतिजा सार्वजनिक गर्नेछौँ । सिकाइ आदनप्रदान कार्यशाला १४ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षको सहभागितामा भएको सिकाइ आदानप्रदान कार्यशालामा भोगिरहेका चुनौति र समस्या र तिनका समाधानका लागि निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल भएको थियो ।
पालिकाको कार्यसम्पादन तथा न्यायिक समितिको काममा पालिकाहरुबीच एकरुपता ल्याउने लगायतका विषयमा छलफल भएको थियो । सिकाइ आदानप्रदान कार्यशाला प्रभावकारी भएको सहभागीले बताएका थिए ।