वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका उप सचिव र गाँउपालिकाका शाखा अधिकृतहरुको सरुवा आर्थिक चलखेल गरी गर्दै आएको आरोप लागेको छ । संघीय मन्त्रालय अन्तर्गत रहने पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको दुई वर्ष नपुगी सरूवा गरेर प्रशासनमा अव्यवस्था र बेथिति भित्र्याउने काम जनमतबाट मन्त्री बनेकी अनिता देवी साह , सचिव विनोद सिंह र स्वकिय सचिव नवरत्न साहले गरेका छन ।
निजामती प्रशासन विधेयक संसदबाट पारित गरेर निजामती सेवा भित्रका समस्या समाधान गरी कर्मचारी प्रशासनलाई स्थायित्व प्रदान गर्नु पर्नेमा पाँच दलीय सरकारका सामान्य प्रशासन मन्त्री साह , सचिव सिंह र स्वकिय सचिव साहले स्थानिय तहका कर्मचारीहरुसंग अतिरिक्त रकम लिएर कर्मचारीको व्यापक सरूवा गरेको आराेप कर्मचारीहरूकाे रहेकाे छ ।
खासगरी पालिकाका प्रमुख प्रशासकीय अधिकृत र मालदार कार्यालयको कर्मचारीको सरूवामा मात्र मन्त्री, सचिव, प्रशासन महाशाखाका सहसचिव, उपसचिव र मन्त्रीका पिएहरूको दिलचस्पी बढ्दा असोज महिनामा मनाउने दशैं निजामती क्षेत्रमा चाहिं माघमा नै देखिन थालेको गुनासो कर्मचारीले गरेका छन । निजामती कर्मचारीका संघ–संगठनहरूले निजामती विधेयक पारित गरी प्रशासनलाई व्यवस्थित गर्न, सरूवा, बढुवाको स्पष्ट र पारदर्शी व्यवस्था र मापदण्ड बनाउन पटकपटक चेतावनी दिएपनि गठबन्धन सरकारले कुनै टेरपुच्छर लगाएको छैन ।
विगतमा दुई वर्ष पूरा गरेका कर्मचारीको साउनमा मन्त्रालय र विभागीयस्तरमा सरूवा हुन्थ्यो । भदौ महिनामा अन्तर मन्त्रालय सरूवा गर्ने सरकारी नियम थियो । खाली स्थानमा जुनसुकै बेला काज सरूवा हुने व्यवस्था रहेको थियो । सो निजामती सेवा ऐन नियमलाई भताभुङ्ग बनाएर लत्याउने काम मन्त्री साहले गरिदै आएकी छिन् ।
घुस पाएपछि अहिले सामान्य प्रशासन मन्त्रालयले बाह्रै महिना कर्मचारी सरूवा गरेर निजामती प्रशासन भित्र सरूवा आतंक सिर्जना गरेको छ । समय नै नपुगी सरूवा हुनु पर्दा कर्मचारीहरूको मनोवल खस्किएको गुनासाे छ । कतिखेर कहाँ सरूवा हुने हो भन्ने आतंकित मानसिकतामा कर्मचारी काम गर्न बाध्य छन ।
अर्काेतिर स्थानीय तहमा छिटोछिटो प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारी सरूवा हुँदा स्थानीय तहका विकास निर्माणको काम प्रभावित भएको बताइन्छ । स्थानीय तहमा मन्त्रीको शाहको कार्यकालमा ५ जनासम्म प्रमुख प्रशासकीय अधिकृत फेरिदा सोचे जस्तो काम गर्न नसकेको पालिकाका मेयर र अध्यक्षहरूले गुनासो गरेका छन ।
अहिले मन्त्री साहले छिटोछिटो र बाह्रै महिना सरूवा गरेर कर्मचारी प्रशासनलाई अस्थिर मात्र बनाएका छैनन कि निजामती प्रशासनमा बेथिति नै भित्र्याएका छन । त्यही भएर कार्य क्षमता र कामकाे मूल्यांकनका लागि पनि सचिव, सहसचिव, महानिर्देशक, कार्यालय प्रमुखको कम्तीमा दुई वर्षसम्म सरूवा गर्नु हुन्न भन्ने सुझाव आएका छन । तर, यी सुझावको वेवास्ता गर्दै मन्त्रालयले साउन, भदौ महिना मात्र सरूवा नीति कडाइका साथ लागु गर्ने नीति बनाउनु पर्छ, सरूवा र बढुवा पूर्व अनुमान योग्य हुनु पर्दछ भनेर कर्मचारीहरूले माग गर्दै आएका छन ।
लखेटिए प्रमुख प्रशासकीय अधिकृत
रकम लेदेन र घुसको कुरा नमिल्दा गाउँपालिका र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहबाट लखेटिएका छन् । उनीहरु नगरपालिकाबाट अन्य निकायमा सरुवा हुन पुगेका छन् । त्यसरी सरूवा हुनेहरुमा पर्साको जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी , सखुवा प्रसौनी गाउँपालिकाका देवनाथ साह , पकाहा मैनपुर गाउँपालिकाका राज कुशवाहा , पोखरीया नगरपालिका देवेन्द्र सापकोटा परेका छन । जस मध्ये अधिकृत राज कुशवाहाको जिल्ला समन्वय समिति पर्सामा सरुवा गरिएको छ ।
आर्थिक चलखेल र जनमतको आशीर्वादले पालिका पुग्ने भाग्यमानीहरु
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आशीर्वादले स्वाथ्य शाखा तर्फबाट थैली भेट गर्दै विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउन सफल भएकाे चर्चा मन्त्रालयमा हुने गरेकाे छ । श्रोतका अनुसार पालिका प्रमुखको ३ देखि ४ लाख र नगरपालिका प्रमुखको ४ देखि ७ लाख सम्म पुर्याउने गरेको दाबी छ । यसरी थैली भेट गर्दै प्रमुख प्रशासकीय अधिकृत पड्काउने भाग्यमानीमा राजेश प्रसाद रौनियार , अजय श्रीवास्तव र उमेश साह परेका छन ।
विभिन्न निकायबाट नगरपालिका पुग्ने भाग्यमानीहरु
बिभिन्न सरकारी निकायमा कार्यरतहरुलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । सखुवा प्रसौनी गाउँपालिकाको स्वस्थ्य शाखामा कार्यरत राजेश प्रसाद रौनियार सखुवा प्रसौनी गाउँपालिकाकै निमित प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएका छन । सखुवा प्रसौनी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहलाई पटेर्वा सुगौली पालिकामा सरुवा गरिएको छ ।
पर्सागढी नगरपालिकाको स्वाथ्य शाखामा कार्यरत उमेश साहलाई जिराभवानी गाउँपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा सरुवा गरिएको बताइएको छ ।
यस्तै जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृत अमित गिरीलाई महागढीमाई नगरपालिकामा सरुवा गरिएको छ।
पोखरीया नगरपालिकाकाे स्वस्थ्य शाखामा कार्यरत अजय श्रीवास्तवलाई पोखरा महानगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ भने त्यहाँ कार्यरत उपसचिव देवेन्द्र सापकोटाको अन्यन्त्र सरुवा गरिएको छ ।
पर्साको पकाहा मैनपुर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले जनमतको आशीर्वाद नपाउँदा ३ महिना अघि करैयामाई गाउँपालिकाबाट सरुवा गरिएका उदय शंकर चौधरी मुख्यमंत्री कार्यालयमा हाजिर नभई घुम्दा घुम्दै जनमतको आशीर्वाद र थैलीले पकाहा मैनपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।
अहिलेपनि अधिकृत उदय शंकर चौधरी सरुवाको डरले दैनिक एकजना जनमतको नेता तथा उनका कार्यकर्तासँग दैनिक भेटघाट गर्दै आएको श्रोतको दावी छ । उनको कार्य स्थल पकाहाँ मैनपुर गाउँपालिका भएपनि कार्यालय पुग्न आगाडि उनले दैनिक भेटघाट गरी ती जनमतका नेतासँग आशीर्वाद लिने गरेको श्रोतको दावी छ ।
यस्तै पर्साको पटेर्वासुगौली गाउँपालिकामा कार्यरत रहँदा प्रमुख प्रशासकीय अधिकृत संदेश यादवको आशीर्वाद नपाउँदा उनलाई रौतहटको एक नगरपालिका सरुवा गरिएको थियो । त्यस्तै बाराको परवानीपुर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारलाई पनि रौतहट कै एक गाउँपालिकामा सरुवा गरिएको थियो । रौतहटको गाउँपालिकामा कार्यरत मुन्ना रौनियारले जनमतको आशीर्वाद नपाउँदा अथवा थैली नबुझाउँदा उनको फेरि जिल्ला हुलाक कार्यालय पर्सामा सरुवा गरिएको छ ।
श्रोतका अनुसार पालिकामा कार्यरत प्रत्येक प्रशासकिय अधिकृतहरुलाई जनमतका नेता तथा कार्यकर्ताले फोन गरी भेट्नु अन्य सेवासुविधा दिनु भन्दै दैनिक फोन गरिरहेका छन् । अहिले उहाँहरुको फोनको आतंकले कति पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले मोबाइल समेत बन्द गर्ने गरेका छन् ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत हटाई निमित प्रमुख प्रशासकीय अधिकृत पठाई पर निमित हाकिमले २ महिनाको म्यादको लागि २ लाखसम्म आर्थिक बुझाउने गरेको एक कर्मचारीले बताए ।
पर्सागढी नगरपालिकाकाे स्वस्थ्य शाखाबाट जिन्सी शाखा प्रमुख बन्न जिरा भवानी गाउँपालिका पुगेका उमेश साहलाई तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले जिन्सी शाखा प्रमुख नबनाउँदा साहले मन्त्री साहको नातेदार बताउँदै २ दिन भित्र अधिकृत गिरीको सरुवा गराई आफै निमित प्रमुख प्रशासकीय अधिकृत बनेर आए ।
यो त एउटा पर्सा जिल्लाको घटना यस्ता यस्ता कार्य प्रत्येक जिल्लामा भइरहेको छ ।
यस विषयमा बुझ्नका लागि मन्त्रालयका प्रवक्ता एवम् सूचना अधिकारी उपसचिव कमल प्रसाद भट्टराईसंग सम्पर्क गर्दा निजले बोक्ने ९८५१११७७९७ नम्बरमा सम्पर्क गर्दा फोन उठेन ।