वीरगन्ज । वीरगन्जमा मधेसका सिमान्तकृत महिलाहरुको शसक्तिकरणका लागि पत्रकारीता तालिम शुक्रबारदेखि सुरु भएको ।
अन्र्तराष्ट्रिय दाता युनेस्कोको सहयोग र गैर सरकारी संस्था लोक सञ्चारको आयोजनामा शुक्रबारदेखि १२ दिने तालिम सुरु भएको हो ।वीरगन्जको होटेल वीरगन्ज गेट वेमा सञ्चालित तालिमको उद्घाटन समारोहमा बोल्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पत्रकारीता क्षेत्रमा मधेसका महिलाहरुको उपस्थिती न्युन भएका कारण मधेसका महिला र समग्र मधेसी महिलाको मुद्धाहरु उजागार हुन नसकिरहेको बताए ।त्यस कारण पत्रकारीतामा मधेसका महिलाहरुको सहभागीता बढाउनुपर्नेमा उनले जोड दिए ।
पत्रकारीतामा अहिले लागेका मधेसी मूलका महिलाहरुले पनि राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमै ख्याती कमाउन सफल भएकाले त्यो समग्र मधेसकालागि गौरवको विषय भएकोपनि उनले बताए । अध्यक्ष तिवारीले १२ दिनको आधारभूत पत्रकारीता तालिमपछिपनि पत्रकारीता क्षेत्रमा चासो दिन सहभागीहरुलाई आग्रहपनि गरे । अहिलेपनि मधेसका मिडिया हाउसमा महिला पत्रकारहरुको खडेरी भएकाले यो तालिमले रोजगारी दिनसक्ने प्रबल सम्भावना रहेको उनले बताए ।
तालिमको उद्घाटन सत्रमा लोक सञ्चारका पूर्वअध्यक्ष रमेशरन्जन झाले पत्रकारीतामा मधेसकापनि महिलाहरुको सकृय उपस्थिती बढाउने उदेश्यले तालिमको आयोजना गरिएको बताए ।
नेपालमा महिलाहरु यसैपनि पछाडि परेको र त्यसमापनि मधेसका सिमान्तकृत समुदायका महिलाको हरेक क्षेत्रमा पहुँच पुग्न नसकेको अवस्थामा पत्रकारीतामा मधेसका सिमान्तकृत महिलाहरुको उपस्थिती बढाउन तालिमको आयोजना गरिएको झाले बताए ।सिमान्तकृत महिलाहरु पत्रकारीतामा लागे मधेसका दूरदराजका समुदाय, समाज र गाँउको मुद्धा मिडियाको माध्यमले सशक्त रुपमा राज्यको नीति निर्माण बनाउने तहसम्म पुग्ने उनले बताए । तालिममा सहभागी महिलाहरु १२ दिनको तालिमपछि पत्रकारीतामै नलागेपनि यो तालिमले उनिहरुको सशक्तिकरणमा टेवा पुग्ने उनले बताए ।
यसअघि जनकपुरमा मधेसकै धनुषा, महोत्तरी, सिरहा र सप्तरीमा यस्तै प्रकारको तालिमको आयोजना गरिएको र अहिले वीरगन्जमा मधेसका बाँकी चार जिल्लाका महिलाहरुका लागि यो तालिम आयोजना गरिएको उनले बताए ।
तालिममा पर्सा, बारा , रौतहट र सर्लाही गरि चार जिल्लाका २० जना युवती र महिलाहरुको सहभागीता रहेको छ । सहभागीहरुलाई पत्रकार माधुरी महतो र सलमा खातुनले सहजीकरण गरिरहेका छन् ।