रौतहट — रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको थियो । झडपमा केही स्थानीय घाइते भएका छन् । अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको बताए । उनकाअनुसार पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको छ ।
घिउरा गाउँका स्थानीयले सरस्वतीको पूजा गरेर शुक्रबार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि अर्को पक्षले डिजे बाजा बजाएको भन्दै अवरोध सिर्जना गरेको थियो । त्यसपछि मूर्ति सेलाउन जानेहरुले बाटोमै मूर्ति राखेर बसेका थिए । शनिबार स्थानीय प्रशासनको रोहबरमा दुबै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले सरस्तीको मूर्ति सेलाउन लैजान दिने र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति भए पनि केही उच्छृंखल व्यक्तिहरुले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको बताए ।
‘अहिलले अनिश्चितकाल सम्मको लागि कर्फ्यू आदेश जारी भइसकेको छ,‘ उनले भने,‘यहाँको स्थिति अनकुल छैन । हामी स्थिति नियन्त्रणमा लिँदै दुवै पक्षलाई सम्झाउने प्रयास गरिरहेका छौँ।’
झडपमा दुबै पक्षका मानिसहरु घाइते भए पनि प्रहरीले यसबारे जानकारी दिएको छैन । घट्नास्थलमा नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी यज्ञबिनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेश प्रदेश प्रमुख डिआईजी दिपेन्द्र शाहसमेत पुगेका छन् ।
मूर्ति सेलाउने बिषयमा झडप र साम्रदायिक सद्भाव बिग्रिन नदिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यस गाउँमा पछिल्लो ५ बर्ष देखि मूर्ति सेलाउने बिषयमा दुई पक्षबीच झडप हुँदै आएको छ ।