म भन्न सक्दिन
गणतन्त्र, लोकतन्त्र र राजतन्त्र मध्ये कुन राम्रो
यो छुट्टाउने आआफ्नो तरिका होला
यहि अनुसार कतिले भन्लान् कुन सहि कुन गलत ?
एकपल्ट बिचार गरौं
अनि पछाडि फर्केर इतिहास हेरौं
कुन तन्त्र राम्रो ?
या जुनै तन्त्र भए नि व्यवस्था राम्रो ?
पुर्खालाई त एकजुट हुनैपर्ने थियो
सम्झौता नमानी युद्धले भए पनि एक हुनैपर्ने थियो
डर थिएन ज्यानको, घरको परिवारको
त्यही भएर त निडर कहलाउँथ्यो !
गर्न चाह्याे भन्ने के असम्भव छ ?
कुन अपराधीले सजाय पाउन बाँकी छ
कुन पीडितले न्याय पाउँन बाँकी छ
सबै थोक नेपालमै भएको छ
कि अझै बाँकी छ?
यस्तै यस्तै भएको छ ।
चार्ल्स शाेभराज जस्ता त यतै पक्राउ परेको छन्
अझै भन्छौं बाँकी छ,
तर बाँकी त छँदै छ नि
निर्मलाको हत्यारा कहाँ गयो
पथभ्रष्ट भएर शासन गर्नेहरुले लुकाई दिए
पदमा बसेर जनतालाई सेवाको साटो शोषण गरे!
पुर्खालाई टुक्राटुक्रा भएको देशलाई एक बनाउन लोभ लाग्याे,
तर अल्छी लागेन ,
थुक्क तिमीलाई न्याय दिन पनि अल्छी लाग्छ है?
सायद पुर्वाग्रह नराखी न्याय प्रदान भएको भए
आरती साह, नेहा चौधरीलाई दिनकै माइतीघर मण्डलामा आउनु पर्थेन
पद सम्हालेर बस्ने हरु भ्रष्ट नभएको भए
यस्तो दुरुह अवस्थामा देश आउनु पर्थेन!
एकचोटि मनको आँखा खोलेर
तराईदेखि हिमालसम्म हेर न
कतिजना खुसी छन् र कति सुखी छन्
कति जनाले उमंग र उत्साह मनाइरहेका छन्?
अरे तिमी उमंग र उत्साहका कुरा गर्छौ
यहाँ त नामको लागि संघीयता र लोकतन्त्र छ
तर असलीमा हेर्ने हो भने लुटतन्त्र छ
गरिबलाई लुटेर राक्षसको भुमिका खेलिँदै छ
हामी जस्तोलाई शोषण गरिँदै छ!
अझै स्पष्ट गरि जान्न चाहन्छौ?
हिरालाई फलाममा परिवर्तन भएको देखेका छौं?
नेपालमा यस्तो हुँदैछ
तराई अन्नको भण्डार भनेर चिनिएको क्षेत्र
अहिले मरभुमी हुँदैछ,
सुखहरु दु:खमा परिवर्तन हुँदैछन्
देश बनाउनेहरु सबै विदेश तिर लाग्दै छन्।
यति दु:ख पिर भोग्दा भोग्दै कसरी भन्छौ, लोकतन्त्र राम्रो?
म त भन्छु
पूुर्खाको शासन र व्यवस्था राम्रो
त्यतिबेला यति दु:ख थिएन
पिर खप्नु परेको थिएन
थियो त बस आपसी प्रेमको लागि लडाइँ
एक हुनका लागि युद्ध!
अझै लूटतन्त्रलाई अगाडि बढाउँछौ?
कि यहि सोंचाइ राखेका छौ?
या अरु के के उपाय लगाउँदै छौ?
यस्तै दिनहरुको पर्खाइमा छौ?
कुनैबेला नेपाल हरियो वन नेपालको धन भनेर चिनिएको थियो,
यो वन बिनाश हुँदैछ
जनताहरु भौंतारिदै छन्
अझ कसलाई पिर छ?
कतिले त देशको सिमा नि बेचे
उसको लागि के सजायँ भयो?
जति आए मिठो बोले अनि जनतालाई गोलि हानेर गए!
नयाँ पुस्ता माथि विश्वास थियो
त्यो पनि बकवास भएर गयो
अब कसैको भर छैन
कसै भन्दा कोही पर नि छैन !
यो तरिकाले देश बन्दैन
सत्ता र व्यवस्था फेर्नुपर्छ
नयाँ जाँगर ल्याउनु पर्छ !!
लेखक :- आरति यादव