वीरगन्ज । वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न सामूहिक प्रयास गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको सर्वदलीय बैठकले वीरगन्जमा सदियौंदेखि कायम जातजाति, भाषा, धर्म, समुदायबीचको एकतालाई अझ मजबुत बनाउने निर्णय गरेको हो।
वीरगन्जमा दुई फरक धर्म समुदायबीचको द्वन्द्वका कारण सोमबारदेखि उत्पन्न तनावलाई साम्य पार्न मंगलबार बसेको बैठकले नेपाली जनताबीचको सुसम्बन्ध र एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्न सामूहिक प्रयास गर्ने निर्णयसमेत गरेको छ।
यस्तै बैठकमा वीरगन्जमा रहेकका धार्मिकस्थलहरुमा नाराबाजी,जुलुश लगायतका विरोधका कार्यक्रम नगर्ने नगराउने र यस्ता किसिमका गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयोग गर्ने सहमति भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए।
यसैगरी खुल्लमखुल्ला रुपमा डिजे बजाउने र चर्को स्वरमा माइक बजाउने, राँके जुलुश, लाठीभाला सहितको जुलुश निकाल्ने लगायतका क्रियाकलाप गर्ने विरुद्ध कानुन बमोजिम कारबाही गर्न प्रशासन समक्ष अनुरोध गर्ने र यसमा सबै दलले सहयोग गर्ने सहमति भएको उनले बताए।
जिल्लाको शान्ति सुरक्षा र अमन चयनलाई खलल पर्ने किसिमका धार्मिक र सामाजिक सद्भाव बिगार्ने एंव द्वन्द्वलाई उस्काउने प्रकारका अवाञ्छित गतिविधि साथै धार्मिक, साम्प्रदायिक र्याली, जुलुश,बन्द हड्ताल लगायतका गतिवधि कुनै पनि संघसंस्था र समुदायले नगर्ने र यसमा सबै दल,नागरिक समाज र संघसंस्थाले सहयोग गर्ने सहमति भएको लम्सालले बताए ।
यस्तै सामाजिक सञ्जालमा कुनै पनि जातजाति, धर्म वा समुदायलाई लक्षित गरी नकारात्मक कुराहरू पोष्ट गर्ने गराउने उपर प्रशासनले कडा कारबाही गर्ने निर्णयपनि भएको उनले बताए। उनले सोमबार साँझदेखि वीरगन्जमा जारी कर्फ्युका विषयमा भने जिल्ला सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिने बताए।