पर्सा । पर्साको ग्रामिण भेगमा केही वर्षयता भारतीय गाडीको प्रयोग बढ्दै गएको छ । भारतको बिहार राज्यसँग सीमा जोडिएका कारण सहजै ओहोरदोहोर गर्न सकिने भएकाले यसको प्रयोग बढ्दो छ ।
यसरी गुड्ने अधिकांश गाडीले भञ्सारमा राजस्व दाखिला नगरिकनै निर्वाध रूपमा गाडी गुडाउँदै आएको भए पनि भारतीय नम्बर प्लेटका सवारी साधनमा अंकुश लगाउनेतर्फ कसैको ध्यान जान सकेको छैन । विनाभन्सार जिल्लामा निर्वाध रूपमा भारतीय गाडीको प्रयोग बढेको भए पनि पर्सा प्रहरी मुकदर्शक बनेर बसेको आरोप स्थानीयले प्रहरीमाथि लगाएका छन् ।
पछिल्लो समय सदरमुकाम बिरगंज बाहेक पोखरिया भिशवा लगडी जानकीटोला महादेवपटी सेढवा सुवर्णपुर ठोरी लगायतको आसपासका क्षेत्रमा भारतीय गाडीको प्रयोग व्यापक रूपमा भइरहेको छ ।जसका कारण जिल्लामा आपराधिक घट्ना, दुर्घटनामा वृद्धि भएको र बेथिति बढ्दै गएकोे भन्दै प्रहरीमाथि प्रश्न उठ्न थालेको छ । भारतीय गाडीमाथि कडाई गर्ने हो भने आपराधिक घट्नामा कमी आउने, दुर्घटना कम हुने र राजस्वसमेत उठ्ने भएकाले प्रहरी प्रसाशननै मौन रहेको यसको अनुगमन तथा नियन्त्रणमा लाग्ने कुरामा मौन रहेको स्थानीयहरुले आरोप लगाए ।
आर्थिक अध्यादेशमा भारतीय गाडी नेपाल प्रवेश गर्दा अस्थायी पैठारीअन्तर्गत शुल्क बुझाएर वर्षमा ३० दिन मात्र चलाउन पाउने प्रावधान छ । तर, नियम विपरित यस्ता गाडी पाँच/६ वर्षदेखि निर्वाध रूपमा जिल्लाको सदरमुकाम बाहेक ग्रामीण भेगमा बिना भन्सार निर्धक्क रुपमा जयन्तीको नाम र ब्याक्तिगत प्रयोजनको लागी चल्दै आएका छन् । यसअघि जिल्ला प्रहरी कार्यालयले सीमा क्षेत्रमा बढ्न सक्ने अपराधका घटनालाई मध्य नजर राख्दै जिल्लाभित्र भन्सार राजस्व तिरेर प्रवेश गरेका गाडीको फोटोसहित अभिलेख राखी कडाइ गरेको भए पनि अहिले चेकजाँचसमेत हुन छाडेकोप्रति जिल्लावासी चिन्तित बन्न पुगेका छन् ।
जथाभावी विनाभन्सार प्रवेश गर्ने र नियमविपरित चलाइने भारतीय गाडीलाई कारबाही हुनुपर्ने स्थानीयको माग रहेको छ ।देश प्रादेशिक संरचना अनुरूप गइसकेको अवस्थामा प्रदेश सरकारका मन्त्री, दलका नेता, स्थानीय सरकारका प्रमुखहरूले समेत निर्वाध रूपमा भारतीय गाडीको प्रयोग गर्ने गरेकाले समेत प्रहरीलाई यसको प्रयोगमा अंकुश लगाउन अफ्ठ्यारो परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुनगेलले बताउनु हुन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुखका अनुसार आफूहरूले भारतीय गाडी फेला पारेको बखतमा नियमानुसार कारबाही गर्दै आएको बताए ।
भारतीय कार, जिप, बस, टयाक्टर, ट्रक प्रयोग गर्दा दैनिक ४ सय ५२ रुपैयाँ भन्सार राजस्व तिर्नुपर्ने नियम छ । मोटरसाइकलको एक सय तेरह र तीनपांग्रे सवारीको तीन सय तिर्नुपर्छ । ट्रयाक्टरको दुई सय र ट्रेलरसमेत भए चार सय रुपैयाँ राजस्व तिर्नुपर्छ । कडाइ नभएका कारण अधिकाशंले विनाभन्सार भारतीय गाडी चड्ने गरेका छन् ।
कानुनतः राजस्व तिरेर नेपाल प्रवेश गर्ने भारतीय गाडी एक महिनाभन्दा बढी नेपाली भूमिमा बस्न नपाउने व्यवस्था छ । ३५ दिनसम्म भन्सार राजस्वविना बसेको पाइए गाडी जफत हुने प्रावधान छ तर पर्साको ग्रामीण भेगमा भारतीय जिप बोलोरोहरू नेपालीहरूले नै आफ्नो भारतिय नातागोताको नाममा दुई चके देखी चार चकेसम किनी प्रयोग गर्न थालेको छ ।