काठमाडौं । शिवरात्रिलाई लक्षित गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयले सुरक्षा योजना सार्वजनिक गरेको छ । महाशिवरात्रिका अवसरमा आज काठमाडौंको पशुपति क्षेत्रमा भक्तजनका लागि सहजीकरण गर्न प्रहरीले सुरक्षा योजना सावजनिक गरेको हो ।
प्रहरीका अनुसार आज पशुपति क्षेत्रमा मात्रै चार हजारभन्दा बढी प्रहरी खटिन लागेको छ । सो कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी दिनेशराज मैनालीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीको कमान्डमा तीन सिफ्टमा प्रहरी परिचालन गर्न लागिएको छ । एउटा सिफ्टमा ७१९ पुरूष प्रहरी र ३०५ महिला प्रहरी खटिँदैछन ।
मेलाको निगरानी कर्डन, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती, ड्रोन, सिसिटिभी क्यामरा, बडी क्यामरा लगायत प्रविधिमार्फत राखिने एसएसपी मैनालीले जानकारी दिनुभयो । नेपाल प्रहरी अस्पतालबाट चिकित्सकसहित एम्बुलेन्स र कुनै विपद आइपरेमा उद्धारकर्मी समेत रिजर्भमा राखिएको प्रहरीले जनाएको छ । मेलामा सहभागी हुन आउनेलाई प्रहरीले आफ्नो स्वास्थ्यको ख्याल गर्न, अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान, नगद तथा बहुमूल्य सामान, गरगहना लगायत भीडभाडमा सकेसम्म नबोक्न अनुरोध गरेको छ । यस्तै मादक तथा लागु पदार्थ सेवन नगर्न पनि प्रहरीको अनुरोध छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिकलाई प्राथमिकतामा राख्न प्रहरीले अनुरोध गरेको हो । यस्तै काठमाडौंको गौशाला क्षेत्रमा ट्राफिक व्यवस्थापन चुनौती हुनसक्ने भएकाले काठमाडौं उपत्यका प्रहरी कार्यालय रामशाहपथले पनि व्यवस्थापनको बिशेष योजनासहित काम अघि बढाएको छ ।
भीडभाड हुने भएकाले ट्राफिक प्रहरीले आवश्यकता अनुसार सवारी साधन ’डाइभर्जन’ गर्न सक्ने जनाएको छ । कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिएको छ ।
त्यसैगरी मालवाहक सवारी साधनलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिएको छ । ट्राफिक व्यवस्थापनका लागि मात्रै ५१३ जना ट्राफिक प्रहरी खटाइएको एसएसपी श्रेष्ठले बताउनु भयो ।
चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिकाज होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ जाने सवारी साधनलाई आवश्यकता अनुसार डाइभर्सन गर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरू गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्किने मार्ग, जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ डाइभर्सन गर्न सकिने जनाएको छ । तर मालवाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनका निजी सवारी साधनलाई ट्राफिक चाप र अवस्था हेरी व्यवस्थापन र डाइभर्सन गरिने छ ।
कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरू जडिबुटी, काँडाघारी हुँदै बौद्धतर्फ सञ्चालन गर्ने भएको छ। कोटेश्वर, तीनकुने हुँदै पशुपति वरपरतर्फ जाने मालवाहक सवारी साधनहरू तीनकुने आसपास व्यवस्थापन गरिनेछ। महाराजगन्ज, चाबहिल हुँदै पशुपति वरपर जाने मालवाहक सवारी साधनहरू धुम्बाराहीमा मेला अवधिभर कुर्नुपर्ने हुन्छ ।
कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध, जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडिबुटी, पेप्सिकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्नेछन । पार्किङका लागि ट्राफिक प्रहरीले पाँच स्थान छुट्ट्याएको छ । दर्शनार्थीहरूका लागि सिफल चौरमा छुट्ट्याइएको छ भने सरकारी र सुरक्षाकर्मीहरूका लागि कोषको कार्यालयमा र भण्डारखालमा राखिनेछ ।
त्यस्तै तिलगंगाको खाली स्थान र करिडोरमा तीर्थारू, दर्शनार्थी र पर्यटकको सवारी साधन राखिनेछ । वनकालीमा शिविर सञ्चालन गर्ने संघ, संस्था, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीहरूको सवारी साधन राखिने ट्राफिक प्रहरीको भनाई छ । गुहेश्वरी पारि पनि तीर्थारू, दर्शनार्थीका सवारी साधन राख्न ठाउँ छुट्ट्याइएको ट्राफिक प्रहरीले जनाएको छ ।