पर्सा । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं ४ को मधवल टोलमामा सखुवा प्रसौनी गाउँपालिकाको देउरबनाबाट आएको जन्तिमा बेहुला पक्ष र बेहुली पक्षबीच कुटाकुट हुँदा बिहे नै भाँडिएको थियो ।
बितेको सोमबार आएको जन्तीमा बेहुला पक्षधरहरुले खाना माछा नपाएको भन्दै भनाभन गरेपछि कुटाकुटमा भएको थियो । कुटाकुटमा परी बेहुलाका बुबा घाइते हुनु भएको थियो त्यस पछि बिहे नै भाँडिएको थियो ।
गत सोमबार देखि नै दुवै गाउँका अगुवा समाजसेवीहरुले बिहे हुनुपर्ने अडान राख्दै निरन्तर छलफलमा लागेका थिए । आज भएको छलफलमा अगुवाहरुद्धारा फेरि बिहे गराउने निष्कर्ष निकालेकोमा उक्त निष्कर्ष स्विकार्दै केटाका बुबा र केटीका बुबा आफु राजीखुसी फेरि आउँदो २८ गते बिहे गर्ने सहमतिमा पुगेको छलफलमा बसेका एक समाजसेवी ज्योती दैनिकलाई बताए ।
आउँदो २८ गते बेहुलालगायत केही इष्टमित्रहरुले जन्ती लिएर बेहुलीको घरमा आउने र बिहे हुने उनले बताए ।
घटनाको विवरण
गत सोमबार आएको जन्ती कुटाकुट पछि जन्ती आएकाहरु सबै जना भागेका थिए तर बेहुली पक्षकाहरुले बेहुलालाई घेरी राखेका थिए । बेहुलालाई घेरी राखेको खण्डमा प्रहरीलाई जानकारीहुँदा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीको कमाण्डमा गएको प्रहरी टोलीले बेहुलालाई उद्दार गरी इप्रकामा ल्याएका थिए ।
इलाका प्रहरी कार्यालय पोखरीयामा मंगलबार छलफल हुँदा बेहुलीले बिहे गर्न इन्कार गरेपछि बेहुला आफ्नो घर फर्किसकेको प्रहरी निरीक्षक मोहन विक्रम केसीले बताए ।
स्रोतका अनुसार एक जना जनप्रतिनिधिले घटना मिलाई बिहे गराइदिने तरखरमा दिनभरि प्रयास गरेपनि प्रयास असफल रहेको छ । बिहे नगर्ने अडानमा रहेका केटी पक्षधरले आफ्नो दाइजोको १२ लाख रकम फिर्ता लिने अडान राखेका छन् । तर केटाको पक्षले बिहेमा खर्च भएको भन्दै एक रुपैयाँ पनि नदिने अडान राखेकोमा आज भएको छलफलमा आफै सहमति गरी बिहे गरिने बताइएको छ ।