वीरगन्ज । वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सिक्री नपाउँदा बिहे नै रद गरेका छन् । बाराको कलैया उपमहानगरपालिका - ४ सिनेमा चौक बस्ने साहले दाइजोमा नगद १२ लाख , मोटरसाइकल बापत ३ लाख २५ हजार , एक थान ल्यापटप र एक एक थान सुनको अंगुठी र हनुमानको माला लिए पनि राति मण्डपबाट सिक्री नपाउँदा बिहे नै रद गरेका छन् ।
विवाहमण्डप बनिसकेको थियो । आफन्तलगायत सबै बेहुलासहित आएको जन्ती देखि खुसी बनेका थिए । बर्माला , हाम्रो मधेश समुदाय तिर हुने (पर्छावन ) भइसक्दा अब बिहेका लागि बेहुला मण्डपमा पुग्दा विभिन्न प्रकारका बहाना बनाउँदै बिहे नगर्ने आलटाल गरेमा सबै जना दुःखी बने । बेहुलाले दाइजोमा सिक्री नपाए विवाह नै भाँडे । बेहुला बिहे नगर्नुको कारण थियो, केटा पक्षले मागेको दाइजो जति दिन नसक्नु ।
पर्साको बिरगंज महानगरपालिका २४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीया छोरी रमिता कुमारीको विवाह बाराको कलैया उपमहानगरपालिका ४ सिनेमा चौक निवासी बच्चलाल साहका अन्दाजी २६ वर्षीय छोरा उमेश साहसँग फागुनमा २८ हुने तय भएकोे थियो । तर, आर्थिक अभावका कारण सुखलले दाइजोमा १२ लाख दिए मोटरसाइकल बापत ३ लाख २५ हजार दिए अन्य सब समान दिए पनि बिहे गर्न आएका बेहुला उमेशले सिक्री नपाउँदा बिहे नै गरेनन् ।
ऋण काढेर भए पनि छोरीको विवाहका लागि आवश्यक सबै तयारी पूरा गरेको सुखलले विवाह नै नभएपछि मारमा परेका छन् । साहुसँग चर्को ब्याजमा ऋण काढेर सम्पूर्ण तयारी गरे पनि विवाह नै नभएपछि सुखल थप आर्थिक मारमा परेका हुन् । जन्तीलाई स्वागत गर्न पन्डाल देखि राम्रो खाना नास्ताको पनि व्यवस्था गरेको भएपनि लगभग ५० हजारको सिक्री नपाउँदा बेहुलाले मण्डपबाट भाग्न खोज्दा झडप पनि भएको सुखल बताए ।
‘हामी भन्दै थियौं, पैसाको व्यवस्था भएन । विवाहपछि सिक्री पनि दिन्छु । तर, बेहुला पक्षले मानेनन्,’ सुखलले भने । जति मनाएपनी नमान्दा बेहुलापक्षले कुटपिटमा समेत उत्रे पछि प्रहरी आइपुग्यो र बेहुला सहित ३-४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धानको लागि लाग्यो ।
विवाह नभएपछि रमिता आँसु रोकिएको छैन । स्थानीय केही व्यक्तिले सिक्री दिएर पनि बिहे गर्न सुझाव दिइरहेका छन् । बिहेको वातावरण निर्माणमा जुटेका छन् । तर, अब कुनै पनि हालतमा त्यो घरमा विवाह नगर्ने अडानमा छिन् रमिता । उनले एउटा सिक्रीको लागि विवाह नगर्ने बेहुलाले उनीसँग विवाह गरेपछि झन् दाइजोको लोभमा ज्यान पनि लिन सक्ने बताइन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद दुङ्गेलले घटनाको सत्यतथ्य आफूले बुझिरहेको बताए । उनले दाइजोका कारण विवाह रोकिएकाले पीडकलाई कानुनी कारबाही गर्नुपर्ने बताए । उनले भने, ‘बेहुली पक्षले जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामी बेहुला पक्षमाथि कारबाही गर्छौं ।’
मधेश प्रदेशमा बालविवाह र दाइजो प्रथाको बिगबिगी नै छ । सामाजिक प्रतिष्ठामाथि नै खुलेयाम खेलबाड भइरहे पनि सरकार रमिते बनेका छन् । दाइजोका कारण विवाह रोकिएको यो एउटा उदाहरण मात्र हो । दाइजो नदिएकै कारण विवाह रोकिने र विवाह भइसकेपछि पनि हत्या गरिने जस्तो जघन्य अपराध निरन्तर हुँदै आएको छ ।
सरकारले बालविवाह र दाइजो प्रथालाई निर्मूल पार्ने भन्दै आए पनि यो व्यवहारमा लागू हुन सकेको छैन । दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारका रूपमा अत्यन्त हलुका ढंगले लिइएको पाइन्छ । सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र दर्दनाक रहेको एक कानुन व्यवसायी बताए । उनले भने, ‘दाइजोलाई सामान्य उपहार जस्तो बुझिन्छ । उपहार त दिए पनि हुन्छ, नदिए पनि हुन्छ । तर, दाइजो त सदियौंदेखि समाजमा जरा गाडेर बसेको छ ।’
समाजसेवीहरुका अनुसार दाइजो प्रथाका नकारात्मक पाटाहरू धेरै छन्, यसको प्रभाव बेहुली पक्षमा पर्छ, जुन मगनीदेखि नै सुरु हुन्छ । उनले अधिकांश विवाहमा (विशेषतः तराई–मधेसमा) बेहुली पक्षले बेहुलापक्षलाई के के दिनुपर्छ भनेर छिनोफानो गरिने जानकारी दिइन् । सर्त पूरा भए मात्र विवाह निश्चित हुन्छ ।
दाइजोका कारण तराईमा गर्भपतनको घटना पनि बढ्दै गएको गएको छ । दाइजोलाई मनोवैज्ञानिक आतंक भएको तर्क गर्छन् । ‘दाइजोको तराजुमा सामग्रीसँगै तौलिएकी बेहुलीलाई म एक पुरुष समान छैन भन्ने सन्देश दिइरहेको छ,’ भने उनीहरूले बताए ।