वीरगन्ज । पर्साको ग्रामीण भेगमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएको मध्ये एउटा बाघलाई नियन्त्रणमा लिइएको छ।
तीनवटा हात्तीसहित १० दिनदेखि खटिएको पर्सा र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बिहीबार दिउँसो भाले पाटे बाघलाई डाट हानेर बेहोश पारी नियन्त्रणमा लिएको हो ।
दुवै निकुञ्जका प्राविधिक र डिभिजन वन कार्यालय पर्साको संयुक्त टोलीले सखुवा प्रसौनी गाउँपालिका-२ स्थित उखुबारीबाट उक्त बाघलाई डाट हानेर लठ्याएर नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय रंगपुरका प्रमुख कपिलदेव यादवले जानकारी दिए।
एउटा भाले र एउटा पोथी बाघले पर्साको सखुवा प्रसौनी र पटेर्वा सुगौली गाउँपालिकाका विभिन्न गाउँमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएको थियो । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । एक जना घाइते भएका थिए । राष्ट्रिय वन क्षेत्र नजिकका ती गाउँमा उक्त बाघले दर्जनौं चौपाया पनि मारेको थियो ।
डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त प्रसाद साहका अनुसार उक्त बाघलाई नियन्त्रणमा लिन दुवै निकुञ्जका १० जना प्राविधिक र वन कार्यालयका ५ जना गरी १५ जनाको टोली तीनवटा हात्तीका साथ विगत १० दिनदेखि खटिए पनि सफलता पाउन सकेको थिएन ।
बाघ लुकेर बसेको सम्भावित स्थानहरूमा उक्त टोलीले सीसीटीभी क्यामेरा पनि जडान गरेको थियो। ती दुवै बाघ उखु र मकै बारीमा लुक्दै ठाउँ सर्दै हिँडेका कारण १० दिनसम्म निकुञ्जको टोलीले फेला नै पार्न सकेको थिएन ।
तर बुधबार राति सीसीटीभी क्यामेरामा रेकर्ड भएको फुटेजका आधारमा बिहीबार दिउँसो सखुवा प्रसौनी-२ को उखुबारीमा दुईमध्ये एउटा बाघ लुकेर बसेको अवस्थामा फेला परेपछि डाट हानेर बेहोश पारी उक्त १८ महिनाको भाले बाघलाई नियन्त्रणमा लिन सफल भएको यादवले बताए । अर्को पोथी बाघ भने अझै फेला पर्न नसकेको उनले बताए ।
बिहीबार दिउँसो नियन्त्रणमा लिएको बाघलाई खोरमा राखेर गाडीमा लोड गरी चितवन राष्ट्रिय निकुञ्जको टोलीले लिएर गएको यादवले बताएका छन ।