काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसले राजीनामा माग्दैमा आफूले राजीनामा नदिने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लामिछानेले एउटा चिर्कटो उजुरी हालेको आधारमा पदबाट राजीनामा दिन नसक्ने बताएका हन्।
‘काम गर्न नसकेको बेला तपाईहरुले संसद वा सडकमा राजीनामा माग्दै पर्दैन।रास्वपाका मान्छेहरु खल्तीमा र आफ्नो ब्यागमा राजीनामा बोकेर हिँडेका छन्।तर कसैले एउटा चिर्कोटमा हालेको उजुरी प्रहरी कार्यालयको ड्रयरमा बसेको उजुरीमा राजीनामा दिइन्न,’ उनले भने।
उनले अख्तियारमा झन्डा हल्लाउँदै बयान दिन जाने मान्छेले आफ्नो राजीनामा मागेको बताए।
‘जो अस्तीसम्म झण्डा हल्लाएर अख्तियारमा बयान दिने मन्त्री बोकेर हिँडेको थियो।अस्ती रोष्टम घेर्न जाँदा त म हल्लिदै गरेको अवस्थामा तिनैलाई देख्दैथिएँ म त।राजीनामा दे, राजीनामा दे भन्ने को रहेछन् भनेको त अख्तियारमा झण्डा हल्लाउँदै बयान दिन जाने मान्छेको पो,’ उनले भने।
मन्त्री लामिछानेले आफू सरकारमा बसेको समयमा कांग्रेसले नैतिकता भुलेको पनि बताए।
‘आफू बसुन्जेल त्यो नैतिकता नचाहिने? अनि त्यतिखेर नैतिकता देखाएर हाम्रो मन्त्रीलाई निकाल्यौ भनिदिएको भए हुन्थ्यो नि त।निकाल्नुभएन।प्रधानमन्त्रीले गलहत्याउनु पर्यो,’ उनले भने, ‘अनि नैतिकता उहाँहरुले मसँग खोज्नुभएको छ।’ सम्भार :- सेतोपाटी