पर्सा । पर्साको पर्सागढी नगरपालिकाले निर्माण सम्पन्न हुने मिति भन्दा दुई महिना अगाडि नै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई सम्मान गरेको छ ।
पर्सागढी नगरपालिकाको ठेक्दार कम्पनीले दुई महिना अगाडि नै निर्माण कार्य सम्पन्न गरेपछि सडक कालोपत्र योजनाको उद्घाटनको दिन सम्मान गरिएको हो । निर्माण कम्पनीका प्रोपाइटर सन्तोष गुप्तालाई फुलमाला अबिर, दोसला, प्रमाणपत्र, मायाको चिन्होसहित पर्सागढीका नगर प्रमुख गोकर्ण पाठकले सम्मान गरे ।
नगरस्तरीय कार्यक्रम अन्तर्गत सञ्चालित जनता सडकदेखि कोइलाभार जाने सडकलाई कालोपत्र कार्य गर्न पर्सागढी नगरपालिकाले २ करोड ४५ लाख ६६ हजार ४ सय ३८ रुपैयाँ ११ पैसामा निर्माण कम्पनी श्री जि, एस, थोकर गोविन्द जेभी , भेडिहारी २ पर्साका प्रोप्राइटर सन्तोष कुमार गुप्तासँग जनता सडकदेखि कोइलाभार मन्दिर जाने बाटो १.५४ किमी सडक कालोपत्र निर्माण गर्न २०८०/१/१५ गते सम्झौता भएको थियो । २०८१/१/१५ गते निर्माण काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।
ठेकदारले दुई महिना पहिला नै सन्तोषजनक रूपमा निर्माण कार्य सम्पन्न गरेको हुँदा निर्माण व्यवसायी जि.एस. थोकर-गोविन्द जे.भी.. भेडिहारी-२, पर्साको प्रोप्राइटर सन्तोष कुमार गुप्तालाई सम्मानित गरिएको हो । निर्माण कम्पनीका प्रोप्राइटर गुप्ताले सम्मानित हुन पाउँदा खुशी लागेको बताए । उनले भने, 'निर्माण कार्यमा जहिले पनि गाली हुन्छ, निर्माण कम्पनीले काममा अलिकति यताउता र काम सम्पन्न गर्न सकेन भने जनता लगायत जनप्रतिनिधिहरुले गाली गर्छन् । समयभन्दा पहिला नै काम सम्पन्न गरेपछि तालीको साथै सम्मानित गरिएकोमा खुशी लागेको छ ।'
समय भन्दा पहिला अहोरात्र आफु र इन्जिनियर, सब इन्जिनियरहरु खटिएपछि दुई महिना अगाडि नै काम सम्पन्न गरिएको उनले बताए ।
इन्जिनियर दिगविजय साहले निर्माण कार्यमा आफुहरु दिनरात खटिएको बताए। उनले भने, 'यो निर्माणका समयमा सम्पन्न भएकोमा हामी खुसी भएको छौं।' नगरप्रमुख पाठकले ठेकदार कम्पनीले समयमा निर्माण र सन्तोषजनक काम गरेकाले ठेकदारलाई सम्मानित गरिएको बताए ।