धनगढी- लामाे प्रयासपछि पनि विश्वासकाे मत पाउने अवस्था नदेखेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह राजीनामा दिने तयारीमा रहेका छन्। मुख्यमन्त्री कार्यालय स्राेतका अनुसार शाहले प्रदेशसभामा सम्बाेधन गरेर राजीनामाकाे तयारीमा जुटेका हुन्।
खासगरी सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी(नाउपा) काे विवादले मुख्यमन्त्री शाहले विश्वासकाे मत नपाउने अवस्था सृजना भएकाे हाे। आज दिउँसाे ३ बजे प्रदेशसभा बैठकमा विश्वासकाे मत लिने कार्यसूची रहेकाे छ।
मुख्यमन्त्री शाहलाई विश्वासकाे मत प्राप्त गर्न आफ्नाे दलका १८, नाउपका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १ र स्वतन्त्र १ सांसदकाे मत आवश्यक छ तर नाउपका २ सांसद काठमाडौंमै रहेका र उनीहरूले विश्वासकाे मत दिन धनगढी नआउने अडान राखेपछि मुख्यमन्त्री शाहले राजीनामाकाे तयारी गरेकाे स्राेतले बतायाे।
नाउपमा रेशम पक्षका ५ जना सांसद विश्वासकाे मत दिन तयार रहे पनि रञ्जिता श्रेष्ठकाे पक्षका २ जना सांसद विपक्षमा रहेका छन्। स्वतन्त्र सांसद डाक्टर तारा जाेशी पनि काठमाडौंमै रहेका छन्।
उनले देश सञ्चारसँग भने, ‘उन्मुक्तिका दुई जना सांसद काठमाडौंमै हुनुहुन्छ, उहाँहरू विश्वासकाे मत दिन जान्न भन्नुहुन्छ। उहाँहरू नगए संख्या पुग्दैन, त्यसैले म पनि जाँदिनँ।’
जाेशीले उनीहरू गई विश्वासकाे मत दिने वातावरण भए अझै पनि आफू धनगढी आउन तयार रहेकाे बताए।
मुख्यमन्त्री राजीनामा घोषणा गर्ने विषयमा आन्तरिक परामर्शमा जुटेका छन्। शाहले कांग्रेस संसदीय दलको बैठक पनि बोलाएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारका एक मन्त्रीले भने, ‘अझै पनि विश्वासकाे मत जुटाउने प्रयास त जारी छ तर मुख्यमन्त्रीले राजीनामा दिने सम्भावना बढी छ।’