काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्रीसहित करिव तीन दर्जन ब्यक्तिबिरुद्ध अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन मन्त्री तथा कांग्रेस नेता जीवनबहादुर शाही र नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारसहित ३२ जना भन्दा बढीलाई विपक्षी बनाएर आज बिशेष अदालतलमा मुद्दा दायर गरेको हो ।
अख्तियारले पूर्वमन्त्री शाहीसहित पूर्वसचिव शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
कर्णालीका पूर्वमुख्यमन्त्री शाही हाल नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेता हुनुहुन्छ । प्रतिवादी शिशिर ढुंगाना पूर्व अर्थसचिव हुनुहुन्छ । उहाँ तत्कालीन समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रहेका बेला वाइडबडी जहाज खरिदमा समझदारीपत्र स्वीकृत गर्न गठित समितिका संयोजक हुनुहुन्थ्यो ।
त्यसैगरी बुद्धिसागर लामिछाने पर्यटन मन्त्रालयका सहसचिव हुन । त्यसबेला पनि सहसचिव नै थिए । अन्य प्रतिवादीहरू टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे र अच्युतराज पहाडी त्यसबेला नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य थिए ।
पहाडी निगमको इन्जिनियरिङ निर्देशकबाट अवकास प्राप्त हुन् । त्यसैगरी सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक जीवनप्रकाश सिटौला त्यसबेला सरकारका तर्फबाट निगम सञ्चालनक समितिमा प्रतिनिधित्व गर्ने सदस्य थिए ।
उहाँ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला निगमको २ वटा वाइडबडी जहाज खरिद गर्ने निर्णय भएको थियो । २०७४ वैशाखमा मन्त्रिपरिषद् बैठकमा निर्णय भएर विमान खरिद भएकोमा ३ अर्ब बढी भ्रष्टाचार भएको आरोप लागेको थियो । त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो ।
दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । वाइडबडी जाहाज खरिदमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु देउवा र उहाँका भाईहरु मुख्य योजनाकार रहेको तथ्य सोही बेला खुलेको थियो । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।