बीरगंज । नेशनल मेडिकल कलेज प्रशासनले पक्राउ परेका कलेजका एमडी एवं ल्याबका डाक्टरलाई रिहा गर्न माग गरेको छ । बीरगंज महानगरपालिको अनुगमन टोली सँग पुगेका पर्साका प्रहरी उपरिक्षक कुमोध ढुंगेल सहितका प्रहरी टोलीले बीरगंज १५ स्थित नेशनल मेडिकल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अंसारी एवं ल्याब प्रमुख सञ्जय साहलाई पक्राउ गरेको थियो ।
अनुगमन टोलीले कलेजको ल्याबमा हुने परिक्षणमा गम्भीर किसिमको त्रुटीहरु गरेको फेला परेको थियो । कलेजको ल्याबमा म्याद सकिएको केमिकलहरु प्रयोग गरेको एवं स्वास्थ्य जस्तो अतिसंवेदनशिल कुरामा खेलवाड गरेको अनुगमन टोलीले अनुगमनको क्रममा फेला पारेको छ ।
तर कलेज प्रशासनले मंगलवार एक प्रेस बिज्ञप्ती जारी गर्दै अनुगमन टोलीले लगाएको आरोपहरुलाई खण्डन गरेको छ । प्रेस बिज्ञप्तीमा कलेजले ल्याब टेस्टको प्रोटोकल पालना गरेको तथा म्याद सकिएको केमिकलहरु एकातिर भण्डार गरी राखिएिको तथा निश्चित निर्देशिका अनुसार नष्ट गर्ने प्रक्रियामा रहेको उल्लेख गरेको छ । कलेजले हिरास्तमा लिने नियतका साथ द्वेषपूर्ण र पूर्वाग्रहपूर्ण कार्य निरिक्षण टोलीले गरेको भन्दै सो कार्यको आलोचना गरेको छ । साथै अनुगमन टोलीले लगाएको आरोपलाई ठाडै अस्वीकार गरी कलेजका प्रबन्ध निर्देशन एवं ल्यावका डाक्टरलाई रिहा गर्न प्रेस बिज्ञप्तीमा माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले कलेजको ल्यावमा गम्भीर त्रुटी देखिएको भन्दै दुई जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाइएको एवं थप अनुसन्धान भइरहेको जनाएको छ । गरिब जनताको उचार हुने अस्पतालको ल्यावमा म्याद गुज्रिएको केमिकल तथा औषधीहरु फेला पर्नु तथाा प्रयोग हुनु अति संवेदनशिल कुरा भएको हुँदा प्रहरीले घटना बारे सुक्षम तरिकाले अनुसान्धान गरी रहेको जनाएको छ । प्रहरी कुनै दवाव र प्रभाव नपर्ने बताउँदै कानुन अनुसार पर्सा प्रहरीले काम गर्ने पर्सा प्रहरी नायब उपरिक्षक केशर न्यौपानेले बताए ।
दिउँसो १ बजे पक्राउ परेका कलेजका प्रबन्ध निर्देशकका बुवा एवं कलेजका अध्यक्ष डा. जैनुदिन अंसारीले पक्राउ परेका छोरा तथा ल्याब प्रमुख डाक्टर बिरामी रहेको दावी गर्दै अस्पताल भर्ना गर्न प्रहरीलाई दवाव दिएका थिए । तर नारायणी अस्पातलको इमर्जेन्सी कक्षमा प्रहरीले पु¥याउँदा दुवै जनालाई भर्ना गर्ने अवस्था नदेखिएपछि नारायाणी अस्पातल प्रशासनले रेफर गरेको थियो । हाल दुवै जनाको बीरगंजको गण्डक चौकमा रहेको वीरगंज हेल्थकेयर अस्पतालको अति भिआईपी कक्षमा उपचार भइरहेको छ ।
बिशेष स्रोतका अनुसार कलेजका एमडी हठाकठा जवान रहेको तथा उनलाई कुनै किसिमको रोग पनि नरहेको कारण पोल खुल्ने डरले नारायणी अस्पतालमा राख्न नमानेको एवं आफ्नै हितैसी रहेको अस्पतालमा भर्ना भई बिरामीको नाटक गरी रहेका छन् । प्रहरी थुनुवामा वस्नु पर्ने डरले बिरामीको नाटक गरी अस्पतालको अति भिआईपी कक्षमा उनी यति खेर मौज गरी रहेका छन् तथा उनलाई छुटाउँन दौडधुप शुरु भइसकेको स्रोतको दावी छ ।
वीरगंज नेशनल मेडिकल कलेज जस्तो संस्थामा आम जनताको स्वास्थ्यसँग गम्भीर किसिमको खेलवाड भइरहेको देखिएपछि वीरगंजको अन्य अस्पातलहरुमा पनि अनुगमन गर्नु पर्ने आम पर्सावासीको भनाई रहेको छ । कलेजमा ४० भन्दा बढी प्रकारका म्याद गुज्रिएका औषधी तथा केमिकल भेटिएको थियो ।