वीरगञ्ज । नेसनल मेडिकल कलेज वीरगञ्ज प्रबन्ध निर्देशक शाहनवाज अन्सारी पक्राउ परेपछि अस्पताल भर्ना भएका छन् । सोमबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर स्वास्थ्यको कारण देखाउँदै उनी हिरासत नबसेर अस्पताल भर्ना भएका हुन् ।
पछिल्लो समय पक्राउ परेका भीआइपी आरोपीहरुले अस्पताललाई नै हिरासत कक्ष बनाउने गरेका छन्। गृहमन्त्री रवि लामिछानेले यस विषयमा एक साताअघि सम्बन्धित पक्षसँग छलफल समेत गरेका थिए । तर कार्यान्वयन हुनेमा आशंका देखिएको छ।
शाहनवाजलाई पक्राउ गरेपछि वीरगञ्जको नारायणी अस्पताल स्वास्थ्य परीक्षणको लागि लगिएको थियो । तर अस्पतालले उनलाई अस्पतालमा राख्न नै रिफर गर्यो । मेडिकल क्षेत्रमा दबदबा बनाएको अन्सारी परिवारबाट अस्पताल नै प्रभावित भएको प्रहरी अधिकृतको दाबी छ ।
त्यसपछि उनलाई वीरगञ्जको बिएचसी अस्पतालमा भर्ना गरिएको हो।'उहाँ अहिले सिसियुमा हुनुहुन्छ। दुई दिनदेखि यही नै हो,' अनुसन्धानमा खटिएका एक प्रहरीले भने ।
कलेजमा प्रहरीसहितको संयुक्त टोलीले छापा मारेको थियो। जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिकाको महानगरका बजार व्यवस्थापन तथा अनुगमन लगायतको टोली अस्पतालमा पुगेको थियो। दिउँसो २ बजेतिर टोली अस्पतालको ब्लक 'ए' मा रहेको ल्याबमा टोलीले छापा मार्दा म्याद गुज्रिएको औषधी फेला पारेको थियो। त्यसपछि प्रहरी टोलीले ल्याब प्रमुख सञ्जय शाहलाई नियन्त्रणमा लियो।
मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी पनि उनीसँगै समातिए । शाहनवाज कलेज सञ्चालक डाक्टर जैनुद्दिन अन्सारीका छोरा हुन्।
पक्राउ परेका दुई जनालाई हिरासतमा राख्न जिल्ला अदालत पर्साले दुई दिनको म्याद लिएको थियो । पहिलो पटक ल्याएको म्याद आज सकिदैछ। दोस्रो पटक म्याद थप गर्न प्रहरीले आरोपीलाई अदालतमा उपस्थित गराएको छ। अन्सारीको पक्षमा १० जना वकिलहरुले वकालत गरिरहेका छन्।
'अदालतले आज म्याद थप गर्छ कि गर्दैन, खै थाह भएन। उनीहरुले वरिष्ठ वकिल लगाइरहेका छन्' एक प्रहरी अधिकृतले सुनाए।
पक्राउ गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। तर अस्पतालमा भेटिएका औषधी र केमिकलहरुको पुनः परीक्षण गर्नुपर्ने भन्दै प्रहरीले थप समय माग गरेको हो।