विरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले अनुमति दिएको छ ।
यसअघि अदालतले दिएको दुई दिनको म्याद अपुग भएपछि जिल्ला प्रहरी कार्यालय पर्साको अनुरोधमा पर्सा जिल्ला अदालतले अस्पतालका एमडी अन्सारी र ल्याब प्रमुख डा. सञ्जय कुमार साहमाथि अनुसन्धान गर्न थप पाँच दिन म्याद थप गरेको हो ।
अस्पतालस्थित ल्याब र फार्मेसीमा म्याद गुज्रिएको केमिकल, रीएजेन्ट र औषधीहरू बरामद भएपछि अन्सारी र डा. साहलाई सोमबार जिल्ला प्रहरी कार्यालय पर्साले हिरासतमा लिएको थियो ।
वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा बजार अनुगमन समितिले सोमबार अस्पतालस्थित प्रयोगशाला र फार्मेसीमा छापा मारी गरेको थियो । छापा मारीका क्रममा ल्याबमा बिरामीको उपचारमा प्रयोग भइरहेकै अवस्थामा म्याद गुज्रिएका केमिकल र फार्मेसीमापनि म्याद गुज्रिएका औषधी भेटिएको अनुगमन समितिका सदस्य तथा महानगरका कार्यपालिका सदस्य कन्हैया ठाकुरले जानकारी दिए ।
बिरामीहरूको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने केमिकल र औषधी नै म्याद गुज्रिएको भेटिएपछि अनुगमन टोलीसँगै रहेका पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गे एमडी अन्सारीसँगै ल्याब प्रमुख डा. साहलाई हिरासतमा लिएको थिए ।
अन्सारी र डा. साहविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले दिएको जाहेरीको आधारमा पर्सा प्रहरीले उनीहरूमाथि कालोबजारी तथा सामाजिक अपराधमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । मञ्चका सुनिल श्रेष्ठले नेशनल मेडिकल कलेजसहित अन्सारी र डा. साहले उपभोक्तालाई कालोबजारी गरेको उजुरी दिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) केशर न्यौपानेले जानकारी दिए ।
यता, पक्राउ परेका अन्सारी स्वास्थ्यमा समस्या आएको भन्दै थुनुवामा नबसेर अस्पतालमा भर्ना भएका छन् । प्रहरीले उनलाई हिरासतमा लिएपछि स्वास्थ्य परीक्षणका लागि नारायणी अस्पताल लगेको बेला उनले छाती दुखेको गुनासो गरेका थिए । त्यसपछि नारायणी अस्पतालका चिकित्सकहरूले उनलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने सुझाव दिए । सोही सुझावको आधारमा उनलाई अहिले वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको छ । यद्यपि उनले थुनुवामा नबस्न छाती दुखेको नाटक गरेको स्रोतको दाबी छ । उनको यस षडयन्त्रमा नारायणी अस्पतालका चिकित्सकहरूले समेत सहयोग गरेको बुझिएको छ । छाती दुखाइका कारण अस्पतालमा उपचार गराइरहेका अन्सारीको अस्पताल शय्याबाटै फोनमा कुरा गरिरहेको तस्बिर समेत बाहिरिएको छ ।
अर्को तर्फ नेशनल मेडिकल कलेजले मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै एमडी अन्सारी र ल्याब प्रमुख साहलाई प्रहरीले पूर्वाग्रही भएर नियन्त्रणमा लिनु अन्यायपूर्ण र अनुचित रहेकाले तत्काल दुवै जनालाई रिहा गर्न माग गरेको छ ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत गौसुल आजमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मेडिकल कलेजले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायत अन्य नियामक निकायको निर्देशन र प्रोटोकलको पालना गर्दै आएको छ । कुनै पनि प्रयोगशालामा रिएजेन्ट र रसायनको म्याद समाप्त हुनु सामान्य कुरा हो । त्यस्ता म्याद सकिएका रिएजेन्ट र रसायनहरू भण्डारण गरेर विधि प्रक्रिया पूरा गरी निश्चित अन्तरालमा प्रयोगशालाबाट हटाइन्छ । तसर्थ मेडिकल कलेजको प्रयोगशालामा म्याद नाघेका वस्तुहरू राख्नु गैर कानुनी छैन। हाम्रो प्रयोगशालामा त्यस्ता म्याद नाघेका रिएजेन्ट र रसायनहरूसँग सम्बन्धित जोखिम शून्य हुन्छ किनकि मेडिकल कलेजको प्रयोगशालामा भएका स्वचालित मेसिन र उपकरणले म्याद नाघेका रिएजेन्ट र रसायन एसेप्ट नै नगर्ने भएकाले जाँच प्रक्रिया नै सुरु गर्दैन ।’
अन्सारी र ल्याब प्रमुख साहलाई रिहा गर्न माग गर्दै मेडिकल कलेजका स्वास्थ्यकर्मी र कर्मचारीले मङ्गलबार जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शन समेत गरेका थिए ।