वीरगन्ज ,४ बैशाख । नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवको अवसरमा आयोजित टि - १० क्रिकेट लिग प्रतियोगितामा नेपाल मेडिकल एसोसिएसन पर्साले नेपाल पत्रकार महासंघ पर्सालाई फराकिलो रन अन्तरले हराएको छ ।
टि - १० क्रिकेट लिग प्रतियोगिता अन्तर्गतको मंगलबार भएको तेस्रो खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले नेपाल पत्रकार महासंघ पर्सालाई ६१ रनले हराएको हो ।
वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा
१०७ रनको लक्ष्य पाएको पत्रकारले ९ ओभर ४ बलमा अलआउट हुदै ४५ रन मात्र बनाएपछि नेपाल मेडिकल एसोसिएसन पर्साले ६१ रनले जितेको हो ।
यसअघि खेलमा पहिले ब्याटिङ गरेको नेपाल मेडिकल एसोसिएसन पर्साले १० ओभरमा ८ विकेटको क्षतीमा १०६ रन बनाएको थियो ।
अहिलेसम्म जिल्लामा भएको विभिन्न प्रतियोगितामा जित्दै इतिहास राखेको नेपाल पत्रकार महासंघ पर्साले नेपाल मेडिकल एसोसिएसन पर्सा संग पहिलो पटक हार ब्योहोर्नु परेको हो ।
खेलको म्यान अफ दि म्याच नेपाल मेडिकल एसोसिएसन पर्साका खेलाडी डा. नदिम हुसेन घोषित भए । उनलाई नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा . उदयनारायण सिंहले शिल्ड प्रदान गरेका थिए ।
नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयको आयोजनामा सोमबारबाट सुरु भएको टि - १० क्रिकेट लिग प्रतियोगिता बैशाख ५ गते सम्म चल्ने नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए ।
प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक , नेपाल पत्रकार महासंघ पर्सा , वीरगन्ज बैंकर्स ग्रुप , नेपाल मेडिकल एसोसिएसन पर्सा ,वीरगन्ज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगन्ज सहभागी भएको उनले बताए ।