पर्सा । नेकपा एमालेको पर्सा जिल्ला कमिटीको नवौं अधिवेशन सोमबार सुरु हुँदैछ । अधिवेशनको वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि रहेको लाल बंगलामा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
नयाँ नेतृत्व हात पार्न नेताहरुले गुटगत प्यानल बनाई प्रतिस्पर्धा गर्ने सम्भावना छ । जिल्लाका नेताहरु केन्द्रिय सदस्य एवं सांसद राजकुमार गुप्ता र केन्द्रिय सदस्य प्रभु हजारा समूहमा विभाजित भई प्यानल बनाउने तयारीमा छन् ।
गुप्ता समूहबाट केन्द्रिय सल्लाहकार समिति सदस्य शिव पटेल र हजरा समुहबाट जिल्ला संयोजक विश्वम्भर शर्मा अध्यक्षमा आकांक्षी छन् । यस्तै, अरु पनि अध्यक्षको आकांक्षा राखेका छन् ।
आकांक्षीहरु धेरै भएपनि गुप्ता समूहले पटेललाई र हजरा समूहले जिल्ला संयोजक शर्मालाई नै उम्मेदवार बनाउने एमालेका एक नेताले बताए । ‘यहाँ प्रतिष्ठा र गुटको लडाइ छ । आकांक्षी जतिसुकै भएपनि मुख्य प्रतिस्पर्धा अहिलेकै अध्यक्ष र पटेलबीच नै हुन्छ’, एमालेका एक जिल्ला नेताले भने ।
आठौँ जिल्ला अधिवेशनमा गुट परिवर्तन गरी गुप्ता समूहबाट हजरा समूहमा गएर जिल्ला संयोजक बनेका शर्मा पुनः जिल्ला अध्यक्षमा दोहोरिन चाहन्छन् । तर गुप्ता समूहले नवौं अधिवेशनमा पटेललाई अध्यक्षका लागि अघि सारेपछि शर्मा चिढिएका छन् ।
त्यसैले शर्माले विभिन्न मितिमा अधिवेशन हुने तय गरिएपनि आफू अनुकूल नहुँदा विज्ञप्ति जारी गर्दै एकलौटी रुपमा स्थगित गर्दै आएका थिए तर गुप्ता समुहले जहिले पनि हुने भए आफूहरु तयार रहेको बताउँदै आएको छ ।
नेकपा एमालेका एक नेताले भने संगठनभित्रै सहयोग पाउन नसकेको, पार्टी सञ्चालनमा अनेक बाधा उत्पन्न भएको, संस्थागत गुटबन्दी झाँगिएको, स्थानीय कमिटीहरू संस्थागत रूपमा सञ्चालन हुन नसकेको जस्ता कारण देखाएर अधिवेशन गर्ने परेको उनले बताए ।
विवादले अधिवेशन स्थगित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई काठमाडौं बोलाएर छलफल गरेका थिए । त्यसपछि विवाद समाधान भई सोमवारका लागि अधिवेशनको नयाँ मिति तोकिएको थियो ।
आर्थिक नगरी समेत रहेको जिल्ला भएकाले पर्साको अधिवेशनलाई चासोका साथ हेरिएको छ ।
त्यस्तै हजरा टिमबाट उपाध्यक्षमा जिल्ला सचिव रहेका मनोज गुप्ता लगायतको प्यानल बनाई उम्मेदवारी दिने तयारी रहेको स्रोतले जनाएको छ भने गुप्ता समुहमा अहिले अध्यक्षको उम्मेदवार मात्र टुंगो लागेको तथा आजै पुरै प्यानल सहित उम्मेदवारी टुङ्गो लाग्ने एक नेताले बताए । अधिवेशनका लागि १४ वटा स्थानीय तह , पार्टीका विभिन्न जनवर्गीय संगठन र कलश्टरबाट गरेर करिब ६७५ जना प्रतिनिधि छनौट भएका छन् ।
प्रभु हजारा समुहमा केन्द्रिय सदस्य निर्मला देवकोटा , अध्यक्षका उम्मेदवार रहेका शर्माको प्रस्तावक पूर्व गाउँपालिका अध्यक्ष जालिम मियाँ , अध्यक्ष उम्मेदवार शर्माको समर्थक एवं जिल्ला सचिव मनोज गुप्ता लगायत रहेका छन् ।
त्यस्तै राजकुमार गुप्ता समुहमा मधेस प्रदेश कमिटीका उपाध्यक्ष विचारी यादव , नेता विजय सरावगी , बश्रुदिन अन्सारी लगायत रहेका छन् ।
भने हजरा समुह एक नेताका अनुसार आफूहरु संग ६७५ प्रतिनिधि मध्ये ४५० हाम्रो प्रतिनिधि रहेकोले हाम्रो प्यानल नै विजयी हुने उनले दाबी गरे ।