वीरगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नारायण प्रसाद (एनपी) साउदले बर्तमान एमाले माओवादी गठबन्धनको सरकार आन्तरिक अविश्वास र षड्यन्त्रले नै ढल्ने दावी गरेका छन् ।
प्रेस युनियन पर्साको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य एवं पूर्व मन्त्री साउदले नेपाली कांग्रेसले बिहानको ४ बजे चाहे भन्ने बिहानको सुर्य उदय हुनु भन्दा अगाडी नै सरकार ढल्ने दाबी गरे । तर अहिलेको सरकार ढाल्न नेपाली कांग्रेस नचाहेको र यो सरकार तुरुन्तै आफै ढल्ने निश्चित रहेको बताए ।
अहिले देश राजनीति अस्थिरतातर्फ धकेलिएको बताउदै उनले जनतालाई अहिलेको सरकारले आश्वस्त पार्न नसक्दा सरकारको भरोसा जनतामा नरहेको जिकिर गरे ।
नेपालको राजनीतिमा नेपाली कांग्रेस निर्णयक र देश र जनताको कार्यभार बोकेको सबैभन्दा ठूलो पार्टी भएकोले कांग्रेसलाई राजनीति गरेर सरकार बाहिर राखेर राजनीतिमा सुधार नहुने बताए ।
नेपाली कांग्रेस स्वच्छता र पारदर्शितामा विश्वास गर्ने पार्टी भएकोले अहिलेको सरकारका गृहमन्त्रीमाथि आरोपहरु रहेको र त्यसलाई सरकारी तहबाट नभई संसदीय प्रकृयाबाट छानविन हुनुपर्ने कांग्रेसका अडान रहेको बताए ।
गृहमन्त्री लामिछानेले कांग्रेसको विरोधमा दिएको अभिव्यक्तिप्रति इंगित गर्दै पूर्वमन्त्री समेत रहेका नेता साउतले भने, ‘पत्रकार र गृहमन्त्रीको पद र जिम्मेवारी फरक हो । पदमा बसेपछि प्रश्न गर्ने होईन प्रश्नको जवाफ दिनुपर्छ ।’
मन्त्री भएर जिम्मेवारीमा बसेपछि पत्रकारले जस्तै प्रश्र्ने प्रवृत्तिले राजनीति अगाडि नबढ्ने बताए । संसदीय छानविन नबनाएर सहकारी पीडितहरुको अधिकारलाई गृहमन्त्री लामिछानेले कुण्ठित गरेको बताए । पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता साउतले अहिले सरकारले छिमेकी देशहरुसँग अन्तराष्ट्रिय सम्बन्ध बलियो राख्न नसकेको आरोप लगाए ।
अन्तराष्ट्रिय शक्तिराष्ट्रहरुलाई विश्वास दिलाउन नसक्दा मुलुकको शान्ति प्रकृया टुंगोमा पुग्न नसकेको तर्क गरे ।
साथै पत्रकारहरुले नेपाली कांग्रेस सरकारमा भएको बेला केही नबोल्ने र सरकार बाहिर हुँदा फलानोले यति भ्रष्टचार गर्यो भनी संसद अवरोध गर्ने मात्र काम गरेको आरोप लागेको भन्दै प्रश्नमा पूर्व मन्त्री तथा केन्द्रिय सदस्य साउदले प्रश्न अनुसारको जवाब दिएनन् ।
पत्रकार भेटघाटमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद अजय चौरसिया, पर्साका सभापति तथा प्रदेश सांसद जनार्दन सिंह क्षेत्री, पूर्वमन्त्री ओमप्रकाश शर्मा, उपसभापति रामनारायण कुर्मी, प्रदेश सांसद श्याम पटेल लगायतको उपस्थिति रहेको थियो ।