वीरगञ्ज । परीक्षा सेन्टरमा अमर्यादित व्यवहार भएको भन्दै वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसको परीक्षा सेन्टरमा परीक्षार्थीहरू तोडफोड गरेका छन् ।पर्सा प्रहरीका डीएसपी केशर न्यौपानेले क्याम्पसमा विद्यार्थीहरूले तोडफोड गरेको पुष्टि गरे ।कलेजका शिक्षकहरूले अमर्यादित व्यवहार गरेको भन्दै परीक्षार्थीहरूले तोडफोड गरेको प्रारम्भिक सोधपुछमा बुझिएको उनले बताए ।
परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोस्ने, मानसिक यातना दिने जस्ता गतिविधि गरेर हैरान गरेको भन्दै विद्यार्थीहरूको गुनासो छ ।
क्याम्पभित्र प्रवेश गरिसकेपछि हामीहरूलाई अनुगमन गर्ने निहुँमा उत्तर पुस्तिका खोसिदिने, उभ्याइदिने, सबैको अगाडि नाङ्गो पारिदिने जस्ता शब्द बोल्ने गतिविधि भइरहेको थियो । सुरुको दिनदेखि यस्तो व्यवहार भएपछि आज हामी परीक्षा पश्चात् प्रतिकारमा उत्रेका हौँ ।’
‘पर्यवेक्षकको काम परीक्षालाई मर्यादित बनाउने हो, परीक्षार्थीलाई अनावश्यक दुःख दिने होइन,’ विरोधमा सहभागी एक विद्यार्थीले भने, ‘तर हरि खेतानका पर्यवेक्षकहरूले हामीलाई बिना काम दुःख दिइरहेका थिए । झरेको पेन उठाउँदा समेत उत्तर पुस्तिका खोसेर निष्कासित गर्ने धम्की दिइरहेका थिए ।’
परीक्षा समाप्त भएपछि आक्रोशित विद्यार्थीहरूले क्याम्पस परिसरमा विरोध गर्दै ढुङ्गामुढा समेत प्रहार गरेका थिए । नेशनल इफोटेक कलेजको परिक्षा सेण्टर हरिखेतान कलेज तोकिएकोमा सेण्टरमा बिधार्थीहरुलाई दुर्व्यहार गरेको तथा अनावश्यक रुपमा मानसिक याताना दिएको बिधार्थीहरुको भनाई छ ।
यता हरिखेतान बहुमुखी क्याम्पसका निमित्त क्याम्पस सञ्चालक किशोरी साहले एनआइ कलेजका परीक्षार्थीहरूले बिना कारण तोडफोड गरेको बताए । कसैको उक्साहटमा परेर परीक्षार्थीहरूले तोडफोड गरेको उनको आरोप छ ।