नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल देशमा एमालेको लोकप्रियता अझ बढ्दै गएको दाबी गरेका छन् । सोमबार वीरगन्जमा नेकपा एमाले पर्सा जिल्लाको नवौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले ईलाम र बझाङमा अहिलेको भएको उपनिर्वाचनको परिणामले एमालेको लोकप्रियता अझै बढ्दै गएको पुष्टि गरेको बताए ।
उनले भने,‘ यसअघि कांग्रेसले जितेको बझाङमा अहिले एमालेका उम्मेदवार विजयी भइसकेका छन् । उता इलाममापनि जारी मतगणनाको परिणामले एमालेको जित सुनिश्चित गरिसकेको छ । इलाममापनि एमाले जित्ने कुरा डिक्लिियर भइसकेको छ।’
दुई जिल्लामा भएको उपनिर्वाचनको परिणामले देशमा एमालेको बहुमत ल्याउन जनता नै आतूर रहेको तथ्यलाई प्रमाणित गरिसकेकोपनि उनले बताए।पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले राष्ट्रिय राजनीतिमा एमालेको बर्चश्व हाबी हुदैं गएको बताए ।
अहिले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र दुरदशाको अन्त्य गर्न अबको निर्वाचनमा कुनै न कुनै दलको एकल बहुमत हुनै पर्ने आवश्यकता देखिएको बताउँदै उनले त्यो बहुमत एमालेले नै ल्याउने जिकिरपनि गरे । पोखरेलले भने,‘किनकि जनताले कांग्रेस, माओवादी र नयाँ नक्कलेहरुलाई हेरिसके । उनिहरुबाट देशको भलो हुनै सक्दैन । त्यसका कारण अब जनताले एमालेको बहुमतको सरकार चाहेका छन्।’
देशको विकास र आर्थिक सम्बृद्धि एमालेबाट मात्र सम्भव भएको उनले बताए । देशका सात वटै प्रदेशमा औद्योगिक क्षेत्र र ७५३ वटै पालिकामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने मान्यता एमालेको रहेको उनले बताए । यसले रोजगारीको सृजना गर्ने र युवाहरुको विदेश पलायन रोकिने अनि मुलुक समृद्ध र सुखी हुने उनले बताए ।
उनले देशैभर एमालेको संगठन बलियो भएन भने जनताको चाहना पुरा हुन नसक्ने भएकाले पर्सामापनि एमालेलाई पहिलो पार्टी बनाउने गरी संगठन निर्माणमा एकजुट भएर लाग्न जिल्लाका नेता कार्यकर्ताहरुलाई निर्देशनपनि दिए ।
नेकपा एमाले पर्साका संयोजक डाक्टर विश्वम्भर शर्माको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई एमालेका मधेस प्रदेश इन्चार्ज एंव पूर्वमन्त्री योगेश भट्टराई,पोलिट ब्यूरो सदस्यहरु जुली महतो,अच्युत मैनाली र सदस्य डिला श्रेष्ठ, केन्द्रिय सदस्यहरु राजकुमार गुप्ता ,प्रभु हजरा र निर्मला देवकोटा लगायतका नेताले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य एमालेका वीरगन्ज महानगर सचिव सुन्दर कुर्मी र उद्घोषण जिल्ला सचिव मनोज गुप्ताले गरेका थिए ।