सप्तरी : आगलागीबाट महादेवा गाउँपालिका–१ चिम्टीस्थित यादव र मुसहर समुदायका एक सय १० बासघर, गोठघर र भुसघरहरु जलेर सखाप भएको छ । गत वैशाख १८ गते दिउँसो करिब शत्रुघन यादवको गोठबाट सल्केको आगोले केही क्षणमै उक्त बस्ती जलेर खरानी बनेको थियो ।
तीव्र वेगको हावाहुरीले आगोबाट अग्नि पीडितहरुका करोडौंको धनमाल नोक्सान भएका छन् । सो आगलागीमा परेर केही गाईबस्तुहरु जलेर नष्ट भएपनि मानवीय क्षति भने भएको छैन । बस्तीमा झण्डै ९ घण्टापछि आगो निभाउन सकिएको थियो ।
आगलागी पीडितहरुका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले राहत वितरणका कार्यहरू जारी राखेको भएपनि चिम्टीका अग्निपीडितहरु यतिबेला पुनर्निर्माणकै चिन्तामा पिरोलिएका देखिन्छ । दिनभर चर्को घाम र रातभरि त्रिपालमुनि बास बसिरहेका उनीहरु पुनर्निर्माणका लागि तीनै तहका सरकारसँग हारगुहार गरिरहेका छन् ।
विनाशकारी उक्त विपदबाट प्रभावित भएका ६६ घरपरिवारका पुरुष, महिला र बालिका गरि दुई सय २८ जना अग्निपीडित यतिबेला खाने खाद्यान्न, लगाउने लत्ताकपडा र बस्ने बासघरको अभाव झेलिरहेका छन् ।
मधेस सरकारले उनीहरुका लागि जनता अवास योजना अन्तर्गत ४७ वटा दुई कोठे घरहरू निर्माण गरिदिने आश्वासन दिएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिद्वारा अग्निपीडितहरुका लागि एकद्वार प्रणालीबाट राहत वितरण कार्य अगाडि बढाइएको छ । जसका माध्यमले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले राहत स्वरुप खाद्यान्न, लत्ताकपडा, नगद र भाँडाकुँडाहरु वितरण गरिरहेका छन् ।
सप्तरी युथको भोजन सेवा
भीषण आगलागीमा परि घरवारविहीन भएका अग्निपीडितहरुको पीडा दयनीय रहेको छ । घरमा वर्षभर लागि व्यवस्थापन गरिएका खाद्यवस्तु, लत्ताकपडा लगायत सामग्रीहरु जलेर नष्ट भएपछि उनीहरु बिचल्लीमा परेका छन् ।
गर्मीका बेला सर्पको बिगबिगीले अग्नि पीडितहरु बाध्यताले त्रिपालमुनि त्रसित भएर दिन बिताइरहेको अवस्थामा सप्तरी युथ नेपाल नामक संस्थाले दैनिक दुई छाक भोजन सेवा दिइरहेका छन् ।
सहयोगी हातहरु महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका स्वतन्त्र विद्यार्थी युनियन, मिसन कलेज राजविराज र पदमाज एग्रो एन्ड टुरिज्म प्रालि बथानाहाको सहकार्यमा अग्निपीडितलाई दाल, भात, तरकारी, अचार र दही जस्ता भोजनालय सञ्चालनमा ल्याएको छ ।
सप्तरी युथका उपाध्यक्ष मोहन कुमार यादवका अनुसार अग्निपीडितलाई सुरक्षित बसोबासको व्यवस्था नमिलाईन्जेल आफुहरु खाना खुवाउने बताएका छ्न।उनले तीनै तहका सरकारले तदारुकताका साथ अग्निपीडितहरुलाई पुनःस्थापनाका गर्नुपर्ने अपेक्षा गरेका छन् ।
महादेवा गाउँपालिकाकी उपाध्यक्ष अर्चना कुमारी यादवको सक्रियतामा अग्निपीडितका लागी टहरा बनाउन एक सय थान बाँस उपलब्ध गराएकी छिन् ।
उनका अनुसार गृह मन्त्रालयको सहयोगमा तत्काल बाँस प्रयोग गरी चाइनिज टेण्टको टहरा बनाएपनि दीर्घकालीन समाधानका लागी सरकारले पुनर्निर्माणको योजना बनाउनेतर्फ ध्यानाकर्षण गराएकी छिन् ।