वीरगन्ज । चप्पल पड्काउनेलाई मन्त्री र प्रधानमन्त्री बनाउन मात्र नभई ‘हिरोलाई जिरो र जिरोलाई हिरो’ बनाउन खप्पिस पत्रकारहरु अब यतिमा मात्र सिमित रहन छोडेका छन् । पत्रकारिताको माध्यमबाट सुझाव सल्लाह दिएर मात्र राजनीति नसंग्लिएपछि राजनीतिको मियोमा आफै पुगी राजनीति संग्ल्याउन पत्रकारहरु पनि अग्रसर हुन थालेका छन् ।
पछिल्लो समय ‘राजनीति’ धमिलो पानीमा माछा मार्ने ठाउँ झैं भई जनहितभन्दा धनहितमा राजनीतिकर्मी फसेपछि पत्रकार नै राजनीति संग्ल्याउन र कमजोरी सच्याउन आफै राजनीति तर्फ सोझिएको दावी गर्दैछन् । सक्छन् या सक्दैनन् त्यो त भोलीका दिनले प्रष्ट्याउँछ । तर एमाले पर्साको नयाँ कार्य समितिको नेतृत्व अहिले पत्रकारकै पोल्टामा कसिन पुगेको ताजा उदाहरण छ ।
पार्टीको अध्यक्षमा डाक्टर, पत्रकार
पर्सेली राजनीतिमा पहिलो पटक पार्टीको अध्यक्ष डाक्टर बन्ने र पत्रकारिता क्षेत्रबाट पनि पार्टीको अध्यक्ष बन्ने इतिहास डा.विश्वम्भर शर्माको पोल्टामा परेको छ । उनले विगतका निरन्तरतालाई दुवै कोणबाट क्रमभंग गरे ।
एमालेको निर्विरोध निर्वाचित अध्यक्ष डा. शर्मा नेपाल पत्रकार महासंघ पर्सा शाखा र प्रेस चौतारी नेपाल पर्साको साधारण सदस्य पनि हुन् । यसको अतिरिक्त कार्य समितिको संगठन हाँक्ने अर्को ठूलो पद ‘सचिव’मा पनि पर्साका अर्का जुझारु पत्रकार महेश दास निर्वाचनबाट गुणवान राजनीतिकर्मी नवराज शर्मालाई पछि पार्दै निर्वाचित भएका छन् ।
एमाले पर्साको नयाँ कार्य समितिका यी दुई पदमा मात्र होइन, वीरगन्जको प्रतिष्ठित पत्रिका प्रतीक दैनिकका सम्पादक गोविन्द प्रताप श्रेष्ठ पनि एमाले पर्साको लेखा समिति उपाध्यक्षमा निर्विरोध निर्वाचित अर्का पत्रकार हुन् । पत्रकारको प्रवेश यतिमा मात्र सिमित छैन ।
१ सय २७ कार्य समितिमा नेपाल पत्रकार महासंघका पर्सा अध्यक्ष अनुप तिवारी, प्रेस चौतारी नेपाल पर्साका सह–सचवि कृष्णा कुशवाहा र अघिल्लो स्थानीय तहको निर्वाचनसम्म पर्सामा चर्चित पत्रकारका रुपमा स्थापित अर्का पत्रकार पवन तिवारी समेत यो पटक एमाले पर्साको कार्य समितिमा निर्विरोध निर्वाचित सदस्यहरु हुन् ।
लेख्ने–बोल्ने मात्र नभई राजनीति संग्ल्याउन जाग्दै पत्रकार
राजनीतिकर्मीलाई लेखेर, बोलेर बाटो देखाउने मात्र नभई अब राजनीति धुमिल गर्नेहरुलाई परास्त गर्दै पत्रकार आफै राजनीतिक क्षेत्रको फोहोर सफा गर्ने ठाउँमा पुग्न थालेका छन् । यसै तथ्यलाई पुष्टि गरेको छ प्रेस चौतारीमा आबद्ध ६ जना पत्रकारको एकै साथ नेकपा एमाले पर्साको ९ औं जिल्ला अधिवेशनबाट कार्य समितिमा प्रवेश । यो सामान्य कुरा चाही होइन ।
राम्रो काम गर्न सके उनीहरुको पार्टी कार्य समितिको प्रवेश देशभरी उदाहरणीय हुनेछ । राजनीतिकर्मीले पत्रकारलाई सामान्य आँक्ने र समाचारका माध्यमबाट पत्रकारले दिएका सुझाव र सल्लाह दुुत्कार्दै अगाडी बढ्ने राजनीतिकर्मी पुग्ने ठाउँमा पत्रकार पुग्नै सक्दैनन् भन्ने एमाले पर्साको अधिवेशनले प्रष्ट पारेको पर्सेली संचारकर्मीहरुको ठहर छ । गीता भण्डारी, आरोहन साह र राकेश कुमार साह गरी अझ तीन पत्रकार प्रतिस्पर्धामा थोरैले मात्र पछि परे । उनीहरु पनि पार्टीको आन्तरिक प्रतिस्पर्धामा हारेका होइनन् । थोरैले पछि परेका मात्र हुन् ।
बानी परिवर्तन गर्न राजनीतिकर्मी चुके अब पत्रकारहरु पनि राजनीतिको मियोमा पुगी आफै नेतृत्व गर्न सक्छन् भन्ने एमाले पर्साको अधिवेशनले औल्याएको स्थानीय बुद्धिजिबीको पनि तर्क छ । ५ दिनसम्म सहमतीय कसरथले पनि नयाँ कार्य समितिका सबै पद टुंगो लाग्न नसकेपछि निर्वाचनमा गएर पनि पत्रकार समेत राजनीतिकर्मीलाई परास्त गर्दै अगाडी आउनु चानचुने कुरा नभएको उनीहरुको भनाइ छ ।
एमाले पर्साको अधिवेशन उद्घाटन भएको छैटौं दिन ३९ वटा पदका लागि निर्वाचन हुँदा जिल्ला सचिव जस्तो गरिमामय पदमा पनि पर्साका सकृय पत्रकार महेश दास आफै निर्वाचित भए । एमाले पर्साको अध्यक्षमा भने तीन दिन अगाडी नै सर्वसम्मत नेतृत्वमा डा.विश्वम्भर शर्मा निर्वाचित भइसकेका थिए । निर्वाचन प्रकृयाबाट टुंगो लगाइएका ३९ पदमा पनि निर्विरोध निर्वाचित अध्यक्ष डा.शर्माकै प्यानलका पदाधिकारी र सदस्यहरु विजयी भएकमा छन् । निर्वाचनको सबै मतगणना भने आइतबार साँझ मात्र आइसकेको हो ।
अध्यक्ष निकट खेमाका अधिकाँश निर्वाचित
वीरगन्जमा भएको एमालेको निर्वाचनले उपाध्यक्षमा अध्यक्ष कै प्यानलका मनोज कुमार गुप्ता निर्वाचित भएका छन् । त्यसै गरी सचिवमा पनि अध्यक्षकै प्यानलका महेश दास निर्वाचित भए । उनले राजकुमार गुप्ता र विचारी यादव प्यानलका नवराज शर्मालाई ७ मतले पछि पार्दै विजय आफ्नो पक्षमा पार्न सफल भएको प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले सार्वजनिक गरेको मत परिणामबाट प्रष्टिएको हो । निर्वाचनको केन्द्रमा सचिव पदकै सबैभन्दा ठूलो रस्साकस्सी थियो । निर्वाचित सचिव दासले २ सय ३९ मत ल्याए । उनका प्रतिद्वन्दी नवराज शर्माले २ सय ३२ मत प्राप्त गरी एक कार्यकालको लागि पत्रकारिताबाट आएका दासलाई छोड्न बाध्य भए ।
उता लेखा समितिको अध्यक्ष, उप सचिव सहित सबै पदाधिकारी र बाँकी सदस्यहरु समेत अधिकांश अध्यक्षकै प्यानलका व्यक्तिहरु निर्वाचित भएको प्रमुख निर्वाचिन अधिकृत ढकालले सार्वजनिक गरेको तथ्याँकले देखाएको हो । निर्वाचनबाट निर्वाचित हुनेहरुमा उपाध्यक्ष मनोज कुमार गुप्ता, सचिव महेश दास, सह सचिव नविजान मियाँ अन्सारी, महिला उपसचिव सीता देवी लामा, लेखा समिति अध्यक्ष शिवजी गुप्ता, सचिव सागिर अहमद सहित, महिला, दलित, आदिवासी र मुस्लिम क्लष्टर तर्फ पनि अध्यक्षकै प्यानलका मानिसको बाहुल्यता रहेको खुलेको छ ।
कार्यकर्ता बीचमा माक्कमुक्क, एमाले पर्सामा दुई खेमा
पर्सामा रहेका एमालेजनमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यद्वय प्रभु हजारा, निर्मला देवकोटा तथा डा.विश्वम्भर शर्मा निकटको एउटा खेमा र एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, प्रदेशका उपाध्यक्ष विचारी यादव निकटकाको अर्को खेमा गरी दुई खेमा छद्मभेषी रुपमा सतहमा रह्यो । दुवै खेमामा नदेखिएका केही स्थानीय नेता कार्यकर्ताहरु पनि खेमाको दवदवामा नतमस्तक भए ।
निर्वाचन गर्ने र नगर्ने भन्ने सवालमा शुक्रबार एमाले पर्साका स्थानीय नेता कार्यकर्ता बीच कुटाकुट नै भएको थियो । सो क्रममा एमालेकै तर्फबाट वीरगन्ज महानगरपालिकाको वडा नम्बर २० मा निर्वाचित वडाध्यक्ष समेत रहेका राजकिशोर सिंह ‘पराग’ को नाकमा चोट लागी सामान्य घाइते पनि भएका थिए । उप–सचिव पदका प्रतिस्पर्धी पराग दुवै प्यानलमा खासै खुलेर देखा परेका थिएनन् । तथापि राजकुमार गुप्ता र विचारी यादव प्यानलका स्थानीय नेता कार्यकर्ता अन्तिम समयमा उनी तर्फ नरम देखिए । आपसी कुटाकुटपछि उनको पक्षमा केही कार्यकर्ताको सान्त्वना भोट समेत खसेको एमाले पर्साका अधिवेशन प्रतिनिधिहरुको दावी छ ।
पार्टीलाई सशक्त पार्ने अध्यक्ष डा.शर्माको प्रतिवद्धता
यता एमाले पर्साका नव निर्वाचित अध्यक्ष डा.विश्वम्भर शर्माले विजयको टिका र माला लगाइसकेपछि पार्टीका सबै साथीहरुलाई मिलाएर पार्टीलाई एकढिक्का बनाई अगाडी बढ्ने प्रतिवद्धता जनाए । अधिवेशनमा आफूहरु एउटा प्रकृयाका लागि मात्र आन्तरिक गृहकार्यमा जुटेकोले यो जित र हार भन्ने होइन । पार्टीलाई अझ सशक्त कसरी बनाएर जाने ? भन्ने तहमा विधानतः आन्तरिक रुपमा कार्यकर्ता बीचमा गृहकार्य गरिएकोले यसलाई बाहिरी आवरणमा उतारिराख्न नपर्ने उनले सबै नेता कार्यकर्ता तर्फ संकेत गर्दै बताए । राजनीतिमा बढेको जनताको वितृष्णा कसरी कम गर्ने ? राजनीति जनहितमा भन्दा धनहितमा बढि अल्झियो भन्ने जनताको आरोप कम गर्न भूईं तहका कार्यकर्ता र जनतासँग मिलेर अहिलेको कार्य समितिले काम गर्ने निर्वाचित पदाधिकारीहरुको दावी छ । ‘राजनीति धमिलियो भन्ने कुरामा हामी सचेत छौं । यसलाई रोक्ने काममा हाम्रो सकृयता हुन्छ’ उनीहरुले भने ।
एमालेको ९ औं जिल्ला अधिवेशनको उद्घाटन सत्र गएको बैशाख १७ गते पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए । अन्तिम परिणाम भने बैशाख २३ गते साँझ मात्र आइसकेको हो । सम्भार :- राजधानी दैनिक