पर्सा । पर्साको बिन्दबासिनी गाउँपालिकाको कार्यालयमा प्रहरी निरीक्षक मोहन बिक्रम केसीको एक कार्यक्रमका बीच विदाई गरिएको छ । गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा ईलाका प्रहरी कार्यालय पोखरीयाबाट सरुवा भई जान लागेका प्रहरी निरीक्षक केसीको शुक्रबार विदाई गरिएको हो ।
सोही अवसरमा सरुवा जान लागेका गएका प्रहरी निरीक्षक केसीलाई अध्यक्ष तिवारीसहित , प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा , लेखा प्रमुख मिथलेश कुशवाहा लगायतले फूलमाला र खादा लगाई हार्दिक बिदाई गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक केसीले आफू सरुवा भई जाँदा पालिकाले देखाएको आत्मियता स्मरणीय रहेको बताए । आफ्नो १५ महिनाको कार्यकालमा गाउँपालिकाको शान्ति सुरक्षा लगायतका विषयमा पालिकाले निकै महत्वपूर्ण समन्वय गरेको प्रहरी निरीक्षक केसीले उल्लेख गरे ।
यस्तै कार्यक्रमका अध्यक्ष तिवारीले पालिकाको दिगो सुरक्षाको पक्षमा काम गरेकाले उनलाई धन्यवाद दिँदै एक मेहनति प्रहरी अधिकृतको रुपमा केसी निकै उत्कृष्ट कार्य गरेको उल्लेख गरे ।
प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले सोमबार ५ सय ११ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा गरेको छ । सोही क्रममा ईलाका प्रहरी कार्यालय पोखरीयाका मोहन बिक्रम केसीको विपत व्यवस्थापन कार्यालय काठमाडौँ शाखामा सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय पोखरीयामा प्रहरी निरीक्षक राजन ढकाल आउने भएका छन् ।
यस्तै कार्यक्रमकै बीचमा जिल्ला प्रहरी कार्यालय पर्साबाट सरुवा भई बिन्दबासिनी गाउँपालिकाको वडा नं ४ अम्मरपट्टी प्रहरी चौकीमा हाजिर भएका वरिष्ठ प्रहरी नायब निरीक्षक रंजन सिंहलाई स्वागत गरिएको छ ।
सई सिंहलाई गाउँपालिका अध्यक्ष तिवारी र प्रमुख प्रशासकीय अधिकृत ओझाले गम्छा अबिर लगाई स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना समेत दिएका छन् ।