पर्सा । पर्सामा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ । खुला सीमानाका कारण भारतबाट लागुऔषध यहाँ भित्रिने गरेको छ । ब्राउन सुगर लगायतका लागुपदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोर किशोरीदेखि युवाहरुको संख्या बढ्दै गएको छ ।
सीमावर्ती भारतीय बजारवाट ब्राउन सुगर लगायतका लागु पदार्थ ल्याएर बिक्री गर्ने गिरोह सक्रिय रहेको छ । लागुऔषधको कारोवार गर्ने गिरोहले किशोर किशोरी र यवायुवतीलाई बिक्री वितरण गर्ने गरेको छ । लागु पदार्थको कारोवारमा संलग्न गिरोहमा भारत र नेपाल दुई देशका व्यक्तिहरुको संलग्नता रहेको श्रोतले बताएको छ ।
प्रहरीले लागुऔषधको प्रयोग गर्ने र सानो मात्रामा बोक्नेलाई पक्राउ गरेपनि कारोवार गर्ने मुख्य गिरोहका व्यक्तिहरुलाई समातेर कारवाही गर्न सकेको छैन । ‘लागुऔषध भेट्टाएको व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । प्रयोगकर्ता र सानो मात्रा लागुऔषध बोक्नेहरुसँग लागुपदार्थ फेला पर्ने गर्छ तर ठूलो मात्रामा लागुऔषध भारतबाट नेपाल भित्र्याएर कारोवार गराउने मुख्य गिरोहका व्यक्तिहरुसम्म प्रहरी पुग्न सकेको छैन’, प्रहरीका एक अधिकारीले भने ।
जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले खुला सीमाका कारण भारतबाट लागुऔषध भित्रिने गरेको बताउँछन् । लागुऔषध फेला परेका जोकोहीलाई पनि प्रहरीले समातेर कारवाही गर्ने गरेको बताउँदै कारोवार गर्ने मेन गिरोहका व्यक्ति आफू लागुऔषध नबोक्ने र पक्राउ परेका व्यक्तिले समेत उनीहरुको नाम भन्न नसक्ने गरेकाले समस्या भएको बताउँछन् ।
‘लागुऔषधको कारोवार गर्ने स-सना गिरोह पक्राउ पर्ने गर्छन्, मेन गिरोहका व्यक्ति पक्राउ पर्दैनन, उनले भने,‘खुला सीमाका कारण भारतमा बसेर तिनीहरुले लागुऔषध नेपाल सप्लाई गर्ने गर्छन्।’
अभिभावक जिम्मेवार हुनुपर्ने, विद्यालयमा सचेतना हुनुपर्ने र सीमामा कडाई गरेर लागुऔषधमा संलग्नलाई कडाकारवाही गरिनुपर्ने उनको भनाई छ ।
लागु पदार्थको तस्करी गर्ने यो गिरोहले विद्यालय पढ्ने कलिला किशोर किशोरीदेखि कलेज पढ्ने विद्यार्थीलाई समेत लतमा पारेर बिक्री गर्ने गरेका छन् । भारतका सीमावर्ती शहरबाट ब्राउन सुगर लगायतका लागु पदार्थ बोकेर ल्याउने र प्रयोगकर्ता पक्राउ पर्ने गरेका छन् । ‘प्रहरीले लागु पदार्थ प्रयोग गर्ने, बोक्नेलाई पक्राउ गरेपनि मुख्य कारोवार गर्नेलाई पक्राउ नगरेसम्म चिन्ताजनक रुपले बढीरहेको लागुऔषधको प्रयोग नियन्त्रण हुन नसक्ने देखिन्छ ।
‘लागुऔषधको कारोवारको गिरोहलाई पक्राउ नगरेसम्म भयाभह रुपमा बढीरहेको लागुऔषधको प्रयोग कम हुने देखिँदैन’, बिन्दबासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले बताए । खुल्लम खुला लागु पदार्थको बढ्दो प्रयोगले विद्यालय पढ्नेदेखि कलेजका विद्यार्थी र युवाहरु दुर्व्यसनीमा फसेर बर्वाद हुने गरेका छन् । विद्यालय पढ्ने, कलेज पढ्ने उमेरमा पनि लागु पदार्थको लतमा फसेको स्थानीय बताउँछन् ।
विद्यार्थी पोशाकमै एकान्त ठाउँमा फसेर लतमा फसेका विद्यार्थी लागु पदार्थ प्रयोग गर्ने गरेका छन् । भुसको आगो जस्तै डरलाग्दो गरि लागुऔषधको समस्याले सबै किशोर किशोरी र युवाहरुमा फैलिरहेको भन्दै समाजका लागि र हाम्रा सन्तानकै लागि ठूलो चिन्ताको बिषय बनेको छ’, भन्छन्,‘जसपा पर्सा जिल्ला सचिव तबरेज अहमद देश विकासको आधार मानिने युवा जमात लागुऔषधले बर्वाद भैरहेको छ ।’
लागुऔषध प्रयोग गर्ने युवाहरुकै कारण हत्या, लुटपाट, चोरी, डकैती जस्ता अपराधका घटना बढ्दै गएका छन् । लुटपाट, चोरी, डकैती लगायतका प्रायःजसो घटनामा लागु पदार्थ प्रयोग कर्ता संलग्न रहने गरेको प्रहरीको भनाई छ ।
आफ्नो नसामा लागि आवश्यक पैसाको जोहो गर्न उनीहरु जस्तोसुकै अपराध गर्न पनि पछि नपर्ने गरेको प्रहरीले बताएको छ ।
अभिभावकले आफ्ना छोराछोरी प्रति निगरानी नराख्नाले लहलहीमा लागेर लागुऔषध दुर्व्यसनको दलदलमा फस्ने गरेका छन् । एकीन तथ्यांक नभएपनि लागुऔषधको दुर्व्यसनको धेरैको अकालमै ज्यान गइसकेको छ । भने कयौको जिवन बर्वाद भएको छ ।
एनजिओ सिसि पर्साका अध्यक्ष ईब्राहिम देवानले लागुऔषधको बढ्दो प्रयोग समाज र सबैका लागि ठूलो चुनौती र चिन्ताको बिषय बनिसकेको बताउँछन् । यसलाई नियन्त्रण गर्न गंभिर भएर लाग्नु जरुरी भएको उनको भनाई छ । विद्यालयमा र परिवारमा जनचेतनाका कार्यक्रम लागु गर्नुपर्ने र अभिभावकले पनि आफ्ना छोराछोरीको उठबसलाई ध्यान दिनुपर्ने उनी बताउँछन् । खुला सीमाबाट व्यापक रुपमा लागु पदार्थ भित्रिरहेकोले प्रहरीले सीमामा निगरानी राख्नु पर्ने उनको सुझाव छ ।