वीरगन्ज । वीरगन्ज महानगरमा रहेका मठमन्दिर,पार्क लगायतका सम्पदालाई अतिक्रमणमुक्त गर्दै सौनदर्यकरणमा लागेको महानगरपालिकाले गीता मन्दिरको प्राङगणमा अनाधिकृत कब्जा गरि बनाइएका पक्की सटरहरुपनि भत्काएको छ ।
मन्दिरको सौन्दर्यकरणका लागि भन्दै महानगरपालिकाले मन्दिर प्राङगणमा करिब डेढ दशकदेखि अनाधिकृत रुपमा कब्जा गरि बनाइएका व्यपारिक सटरहरु शनिबार तीन वटा डोजर लगाएर भत्काएको हो । शनिबार मन्दिरको मूल प्रवेशद्वारको दाँया–बाँया र पश्चिम तर्फका गरी ८ भन्दा बढी सटरहरु डोजर लगाएर भत्काइएको महानगरका नगर प्रहरी प्रमुख हरि भुषालले बताए ।
यसअघि शुक्रबार मेयर राजेशमान सिंहले गीता मन्दिरमा आँफै पुगेर अनाधिकृत सटरहरु खाली गर्न मन्दिर सञ्चालक समितिका अध्यक्ष मदन गुप्तालाई निर्देशन दिएका थिए । मेयर सिंहकै निदेर्शनमा शनिबार तीन वटा डोजर लगाएर ती सटरहरु भत्काइएको मेयर सिंहका सचिवालय सल्लाहकार हरि पोखरेलले बताए ।
पोखरेलका अनुसार, करिब डेढ दशकदेखि गीता मन्दिरको जग्गामा अनाधिकृत कब्जा गरी पक्की सटरहरु बनाएर सञ्चालक समितिले भाडामा लगाएको थियो ।जसका कारण मन्दिरको स्वरुप कुरुप बनेको थियो भने सटरको भाडाको हिसाबकिताबपनि सञ्चालक समितिका अध्यक्ष गुप्ता आँफैले राख्दै आएका थिए ।
एक हप्तापहिले महानगरपालिकाले मन्दिर प्राङगणमा बनाइएका सटरको हिसाबकिताबको विवरण, सञ्चालक समितिको वैधानिकता लगायतका विषयमा लिखित जानकारीसहित उपस्थित हुन भन्दै सञ्चालक समितिका अध्यक्ष गुप्तालाई पत्र काटेको थियो । तर अध्यक्ष गुप्ताले सटरको भाडाका बारेमा गोलमटोल जवाफ दिएको , समिति वैधानिक भएको प्रमाणपनि पेश गर्न नसकेपछि शनिबार डोजर लगाएर पक्की सटरहरु भत्काइएको पोखरेलले बताए ।
उनले भने,‘एक त मन्दिरको सुन्दरता नै छोपिने गरि सटरहरु बनाएर भाडा असुल्दै आएका थिए । त्यो भाडाको हिसाबकिताब महानगरले माग्दा दिन सकेनन् । अर्को कूरा सञ्चालक समिति नै अवैधानिक रहेको पाइयो । एक जना व्याक्तिले बर्षौदेखि मन्दिरको जायजेथामा रजाई गरेको जनगुनासो आएको थियो ।’
मेयर सिंहले मन्दिरको जग्गामा अनाधिकृत रुपमा बनाइएका सटरहरु भत्काएर मन्दिरको थप सौन्दर्यकरण गर्न लागिएको बताए । उनले भने,‘ गीता मन्दिरमात्र होइन, महानगरमा रहेका हरेक धार्मिकस्थलमा गरिएका अनाधिकृत कब्जा र अतिक्रमण महानगरले खोजेर हटाउँछ ।’
उनका अनुसार, गीता मन्दिरकै छेउमा रहेको रामजानकी मन्दिरमा करिब चार दशकदेखि निजी व्याक्तिले गरेको कब्जाबाट मन्दिरलाई मुक्त गरी महानगरपालिकाले सौन्दर्यकरण गरिसकेको छ । यस्तै आदर्शनगरको चिल्ड्रेन पार्कको जग्गामा गरिएको कब्जापनि महानगरले हटाइसकेको छ । त्यस्तै गहवामाई मन्दिर, चिनी मिलको जग्गामा निर्मित करिब पाँच दशक पुरानो पशुपतिनाथ मन्दिर , घण्टाघर लगायतका सम्पदाहरुकोपनि महानगरपालिकाले सौन्दर्यकरण गरेको मेयर सिंहले बताए ।
वीरगन्जलाई ‘बैभव वीरगन्ज’ बनाउने आफनो अभियान निरन्तर जारी रहेको भन्दै मेयर सिंहले भने,‘सार्वजनिक सम्पदा र ऐतिहासिक धरोहरहरुको सौन्दर्यकरण मेरो मुख्य प्राथमिकतामा छ ।’