काठमाडौँ । निःशुल्क सीपमूलक तालिम लिनका लागि काठमाडौँ महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८६६ जनाको आवेदन दिएका छन् । यसमध्ये ४३ हजार ५८ जनाले ‘सीप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएका हुन् ।
२०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा १० क्षेत्रका ३० वटा पेशासँग सम्बन्धित निःशुल्क तालिमका लागि ‘सीप मेला’ कार्यक्रमका लागि आवेदन आव्हान गरेको थियो । तालिमका कक्षाहरु वैशाख १९ गतेदेखि निरन्तर चलिरहेका छन् ।
‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत चालु आर्थिक वर्षमा १५ हजार व्यक्तिलाई निःशुल्क तालिम प्रदान गर्ने, यसरी तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आवद्ध गराउने लक्ष्य छ ।
‘आवेदकले अनलाइनबाट र कागजमा फाराम भरेर आवेदन दिनुभएको छ ।’ आवेदकहरुको संख्याका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन् ‘यस्ता आवेदकहरुलाई नाम थर, मोवाइल नम्बर, नागरिकता नम्बर, ठेगाना जस्ता सूचकका आधारमा एकजनालाई एउटै मात्र तालिमका लागि छान्छौँ । यसपछि सीप मेलाको तालिममा सहभागी गराउन आवेदन दिनुभएका तर त्यहाँ समावेश गर्न नसकिएका आवेदकलाई ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत सञ्चालन भइरहेका तालिम कार्यक्रममा सहभागी गराउँछौँ । यो तालिम पनि निःशुल्क हो । यसमा १० क्षेत्रका ३५ भन्दा धेरै पेशासँग सम्बन्धित तालिम छन् ।’
झाका अनुसार हरेक वडाबाट १ सय जनालाई सहभागी गराउन फाराम पठाइएको थियो । यसको विवरण अद्यावधिक भइरहेको छ । कार्यक्रम शुभारम्भका दिन (वैशाख १९) टुँडिखेलमा आएका सहभागीहरूको ठुलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो । त्यो एक दिनमा ४ हजार १८२ जनाले फाराम भरे ।
त्यसदिनभन्दा अगाडि ७ हजार ३८२ जनाको आवेदन प्राप्त भइसकेको थियो । वैशाख २० गतेदेखि ३० गतेसम्म त्यसदिन पछाडि १३ हजार ९९४ जनाको आवेदन प्राप्त भएको छ ।
‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिएका छन् । यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८८५ जनाले आवेदन दिए । जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका थिए । बाँकीले अन्य विभिन्न विषयका आवेदन दिएका थिए ।
‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो ।
सीप मेलाको अन्तिम २ दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरू स्टलमा रहनेछ । सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरू सम्पर्कमा गएर आफ्नो सीपका बारेमा बताउनेछ । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नेछ । रोजगारदाताले सीपयुक्त जनशक्ति प्राप्त हुनेछन् ।
सीप मेलामा को को आए?
सोमबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रशिक्षण चलिरहेको ठाउँमा गएर सिकाइ विधि निरीक्षण गरे । त्यस क्रममा रहेका सीप मेला निर्देशक समितिका सदस्य सुदीप ढकालले तालिमको लक्ष्यका नीतिसँग सम्बन्धित विषयमा र रोजगार संयोजक देवेन्द्र के. सी. ले प्रशिक्षण कक्षाहरुका विषयमा जानकारी गराएका थिए ।
त्यस क्रममा प्रमुख शाहले, वेल्डिङ् सीप सिकिरहेको प्रशिक्षार्थीहरुसँग फलामको जोडाइका बारेमा प्रशिक्षकसँग पेशागत सुरक्षा सिकाइका बारेमा प्रश्न गरेका थिए । यस्तै डकर्मी तालिम लिइरहेकोहरुसँग प्लाष्टरका विधि, गारो बनाउने विधि र जोडाइलगायत विषयमा सिकेका सीपका बारेमा प्रश्न गरेका थिए ।
यस्तै उपप्रमुख सुनिता डंगोलले, अवलोकन निरीक्षण गर्दै देशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वाश लिन आग्रह गरिन् । सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीले, तालिमको गुणस्तर मापनमा काम गर्ने बताए ।
सीप मेलामा संघीय सरकारका श्रम र रोजगारसँग सम्बन्धित मन्त्रालय र विभाग, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरु, निजी, गैरसरकारी तथा वाणिज्य क्षेत्रमा पदाधिकारीहरुले अवलोकन गरिरहेका छन् ।
यस क्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), दैलेखको नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा सहित स्थानीय तहबाट जनप्रतिनिधि र रोजगार संयोजकसहित कर्मचारीहरु अवलोकनका लागि आएका थिए ।
यस्तै संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि, निजी उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरुले अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा प्रमुख हमालले, आफ्नो नगरपालिकामा कार्यररत रोजगार संयोजकलाई तालिमका विषय र व्यवस्थापन सिक्न मेला स्थलबाटै बोलाए । जीतपुरसिमराका प्रमुख पौडेलले, प्रशिक्षार्थीले तयार पारेको पिजा खाए ।
जीतपुरसिमराका प्रमुख पौडेलले, प्रशिक्षार्थीले तयार पारेको पिजा चाखेका थिए । यसपछि उनले, महानगरपालिकाले सञ्चालन गरेको व्यवहारिक सीपयुक्त तालिम अन्य पालिकाका लागि पनि अनुकरणीय काम भएको प्रतिक्रिया दिए ।