काठमाडौँ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार खुस्कियो भनेर नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई चिथोरेको आरोप लगाएका छन् । साथै उनले अब नेपाली कांग्रेसलाई संसद्मा बोल्न नदिने चेतावनी समेत दिएका छन् ।
बुधवार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले संसदको महत्त्वपूर्ण समय कांग्रेसको लहडबाजीमा खेर फाल्न नहुने भन्दै बिहीबारदेखि संसद् सुचारु हुनुपर्ने बताए । अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गर्दै लामिछानेमाथि आरोप लागेपछि सदनमा बोल्न पाउनुपर्ने पनि बताए ।
‘कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने ? अर्को दिनबाट हामी पनि बोल्ने हो’, ओलीले आक्रोश पोख्दै भने, ‘कांग्रेस बोल्दा हामीले सुनिदिनुपर्ने?’
उनले अब सदनमा कांग्रेसलाई बोल्न नदिने चेतावनी पनि दिए । ‘कांग्रेसलाई अब बोल्न दिइँदैन । पहिले रवि लामिछानेले बोल्न पाउनुप¥यो, होइन भने हामी बोल्छौं,’ ओलीको भनाइ छ । उनले कांग्रेस आरोपित गरिरहने, बकवास बोलिरहने तर अर्काले प्रतिवाद पनि गर्न नपाउने ? भनेर प्रश्न गर्दै यस्तो न डेमोक्रेसी नहुने बताए । ‘यस्तो न डेमोक्रेसी हुन्छ, न संसदीय अभ्यास’, ओलीको भनाइ छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित संसद् अवरोध गरिरहेको छ ।
सट्टा पट्टाका नाममा कांग्रेसले बेच्यो ७० बिगा जमिन
अध्यक्ष ओलीले नेपाली कांग्रेस नेतृत्वको सरकारले पटक पटक गरेर गिरी बन्धु टि स्टेटको ७० बिगाहा जग्गा बेचेको पनि बताएका छन् ।
‘म भन्न चाहन्छु–५१ बिगाहा र १९ बिगाहा गरेर ७० बिगाहा जमिन त्यही गिरीबन्धु टी स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा । यसमा छानबिन हुनुपर्छ’, ओलीले भने, ‘अब हामी नेपाली काँग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन । ’
उनले नेपाली कांग्रेसले गरेका बद्मासीहरुको बारेमा एमालेले कुरा उठाउने पनि बताए । अध्यक्ष ओलीले आफूहरु संसद अवरोधको विपक्षमा रहेको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गिरीबन्धुको जग्गा मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि पनि खनिए । अदालतले हदभन्दा बढीको दिनचाहिँ मिल्ने तर यसको चाहिँ अपरिपक्वता देखियो भनेकोमा ओलीले अदालत र न्यायाधीशमाथि असन्तुष्टि पोखे ।
‘सम्मानित अदालतको हामी इज्जत गर्छौँ, अदालतको फैसला मानेर जेल जीवन पनि बिताएका छौँ’, ओलीले भने, ‘कहिले सत्ताबाट हटेका छौँ । तर पनि हामीले अदालतलाई सम्मान गरेका छौँ ।’
तर फैसला गर्दा गिरिबन्धु टी इस्टेटको कुरा उठिसकेपछि यससम्बन्धीमा केके भएको छ, सम्पूर्ण कागजपत्र लेऊ, अगाडि केके भएको छ, अहिले केके भएको छ खोज्नुपर्दैन भनेर न्यायाधीशमाथि प्रश्न गरे ।