काठमाडौँ । मधेस प्रदेश सरकारका लागि केन्द्रको सत्ता गठबन्धनले गृहकार्य सुरु गरे पनि जसपा नेपाल चुपचाप छ । मधेस सरकारको नेतृत्व जनता समाजवादी पार्टी नेपालले गरिरहेको छ । जसपा नेपाल नेतृत्वको सरकारलाई हालसम्म नेकपा एकीकृत समाजवादीले मात्र साथ दिएको छ ।
मंगलबार जनकपुर पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीतिक परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताए । जसपा नेपाललाई नेकपा एकीकृत समाजवादीले पनि छाड्ने तयारीका रूपमा उनको भनाइलाई बुझ्न सकिन्छ ।
तर जसपा नेपालका नेताहरू नेकपा एकीकृत समाजवादीले आफूहरूलाई सहयोग गर्ने दाबी गरेका छन् । जसपा नेपालका नेता एवं मधेस प्रदेश सभा सदस्य राजु गुप्ताले केन्द्रीय तहमा कुराकानी भएअनुसार नेकपा एकीकृत समाजवादीले जसपा नेपाललाई नै समर्थन गर्ने बताए ।
जसपा नेपालका शीर्ष तहबाटै आफूहरूलाई जानकारी गराए अनुसार नेकपा एकीकृत समाजवादीले मधेस प्रदेशमा जसपा नेपालको साथ नछोड्ने भएको छ ।
कांग्रेस पनि अहिले जसपा नेपालको पक्षमा रहेको भन्नेमा स्पष्ट छैन । सो पार्टीका मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले भने, ‘कांग्रेसले मात्र मत दिएर जसपा नेपालको सरकार जोगिँदैन, अरू दल पनि चाहिन्छ । त्यसका लागि पहल भइरहेको छ ।’
डेमोक्रेटिक एलाइन्स बनाउने प्रयास भइरहेको जानकारी दिँदै यादवले त्यो एलाइन्स बनेपछि मात्र कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा तय हुने बताए ।
माओवादी केन्द्र र एमालेका नेता अनुसार मधेस प्रदेशमा सरकार बनाउन एमाले, माओवादी, जनमत र नेकपा एकीकृत समाजवादी सहमत भइसकेका छन् । त्यसमा लोसपा पनि आउने ती दलका नेताहरूको दाबी छ ।
माओवादी मधेस प्रदेश संसदीय दलका नेता भरत साहले मधेसमा माओवादी, एमाले, जसपा, नेकपा एकीकृत समाजवादी र लोसपाको गठबन्धन बनिसकेको दाबी गर्दै सरकार बनाउने पहल भइरहेको बताए ।
तर अर्को ध्रुवमा रहेका कांग्रेस, जसपा नेपाल, नागरिक उन्मुक्ति र लोसपा एक ठाउँमा आउन सकेका छैनन् । विपक्षी कित्ताका दलहरू पनि जसपा नेपाललाई मधेस सरकारको नेतृत्व दिने पक्षमा छैनन् । उनीहरू सकेसम्म आफ्नै नेतृत्वका लागि प्रयासरत देखिन्छन् ।
लोसपा मधेस प्रदेशका संसदीय दलका नेता उपनेता उपेन्द्र महतोले आफूहरू विपक्षी गठबन्धनमा भए पनि जसपा नेपालको नेतृत्व स्वीकार नगर्ने बताए ।
मधेस प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार परिवर्तन हुनुपर्ने उनको भनाइ छ । उनले जसपा नेपाल इतरको सरकार बनाउनेबारे लोसपाले विचार गर्ने बताए ।
अर्को सरकार बनाउनका लागि विभिन्न दलसँग कुराकानी भइरहेको बताउँदै उनले अहिले कुनै निष्कर्षमा नपुगेको बताए ।
लोसपाका महासचिव मनिष मिश्रले पनि मधेस प्रदेश सरकारको बारेमा अहिले कुनै गृहकार्य नभएको बताए । उनले भने, ‘हामी अहिले विपक्षी गठबन्धनमा छौँ, मधेस प्रदेशमा पनि त्यही अनुसार अगाडि बढ्नुपर्ने हो तर त्यसका लागि अहिले कुनै गृहकार्य भएको छैन ।’
जसपा नेपालका मधेस प्रदेश सभा सदस्य राजु गुप्ताले आफ्नो पार्टी चुपचाप नरहेको बताए । म्यादभित्रै विश्वासको मत लिने र बहुमत पनि प्राप्त हुने उनको दाबी छ ।
हालसम्म जसपा नेपालको साथमा कांग्रेस, लोसपा, नेकपा एकीकृत समाजवादी देखिएको र अरू दलसँग पनि कुराकानी भइरहेको उनले बताए ।