वीरगन्ज । पर्सा जिल्लामा आइतबारदेखि पहिलो चरणअन्तर्गत पोलियोविरुद्धको (आइपिभी) खोप अभियान सञ्चालन हुँदैछ ।
जिल्लास्तरीय खोप समन्वय समिति सचिवालयले तीन चरणमा गरी जिल्लाका ३१ हजार आठ सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी गरेको छ ।
आइपिभी खोपको विश्वव्यापी अभाव हुँदा २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिका उक्त खोपबाट बञ्चित भएका थिए ।उक्त अवधिमा जन्मिएर खोप लगाउन छुटेका बालबालिकामा पोलियो लाग्ने जोखिम रहने भएकाले उनीहरूलाई लक्षित गरी अभियान देशव्यापी रुपमा अघि बढाउन लागिएको हो ।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण श्रेष्ठले २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएर आइपिभी खोप लगाउन बञ्चित रहेका बालबालिकालाई लक्षित गरेर अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोदप्रसाद ठाकुरले आइपिभी खोप विशेष गरेर बालबालिकाको दाया पाखुराको माथिल्लो भागमा मासुभित्र शून्य दशमलव पाँच मिलिलिटरको मात्रा दिनुपर्ने जानकारी दिए । ठाकुरले पर्सामा खोप अभियान तीन चरणमा सञ्चालन गरिने बताए । खोप समन्वय समिति सचिवालयका अनुसार पहिलो चरणमा जेठ १३ गतेदेखि १६ गतेसम्म वीरगञ्ज महानगरपालिका–१ देखि वडा नं १६ सम्म, बहुदरमाई नगरपलिकाका साथै विन्दवासिनी, पकहामैनपुर, छिपहरमाई, कालिकामाई, धोविनी र ठोरी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।
दोस्रो चरणमा पोखरिया र पर्सागढी नगरपालिका तथा जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकामा अभियान सञ्चालन हुनेछ । तेस्रो चरणमा जेठ २३ गतेदेखि २६ गतेसम्म वीरगञ्ज–१७ देखि ३२ नं वडा क्षेत्रमा खोप लगाइने जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए ।
खोप अभियानमा सात सय आठ जना खोप कार्यकर्ता, स्वयंसेवक एक हजार चार सय १६ जना खटिनेछन् । त्यसैगरी एइएफआई एक सय १२ जना स्वास्थ्यकर्मीका साथै नारायणी अस्पतालका तीन जना चिकित्सक पनि तयारी अवस्थामा रहने ठाकुरले बताए ।
जिल्ला खोप समन्वय समितिका संयोजक अजय सर्राफले खोप अभियानमा कुनै पनि प्रकारको त्रुटि र कमजोरी नगर्न स्वास्थ्यकर्मी, खोप कार्यकर्ता, स्वयंसेवकलाई अनुरोध गरे ।