काठमाडौं । २०८१ जेठ १८ गते नेपाल प्रहरीले चारजना प्रहरी उपरीक्षकलाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवाको सिफारिस गरेको छ । एसएसपीहरू कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारी बढुवा भई डीआईजीको फुली लगाएर पदास्थापन भइसकेपछि बढुवा सिफारिस गरिएको हो । नेपाल प्रहरीमा जनपदतर्फ चार जना एसएसपीको रिक्त पदमा बढुवाका लागि २३ जना एसपीहरु प्रतिस्पर्धामा रहेका थिए । यीमध्ये सिनियर एसपीहरू श्याम कृष्ण अधिकारी, रविन्द्र रेग्मी, भिम बहादुर दाहाल र नान्तीराज गुरु¨ बढुवा सिफारिसमा परेका हुन् । दावेदार एसपीहरु धेरैजसो विवादित रहेका थिए ।
एसएसपी बढुवाको प्रतिस्पर्धामा २३ जना एसपीहरू मध्ये एक मात्र महिला एसपी रञ्जु सिग्देल रहेकी थिइन् । बढुवाका लागि प्रतिस्पर्धामा रहेकामध्ये सबैभन्दा सिनियर एसपी विमल बस्नेत रहेको समाचार स्रोतले बताएको छ । उनी २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा २०५८ पुषमा आएको स्रोतको दावी रहेको छ । बस्नेत कारवाहीमा परेकाले बढुवा सिफारिसमा पर्न सकेका छैनन् । उनका ब्याचीहरुमा प्राय सबै एसएसपीमा बढुवा भइसकेको बताइन्छ । तर, यसअघि केही समय निलम्बनमा परेका बस्नेतले सफाई भने पाइसकेका छन् ।
यही कारण उनी बढुवामा छुट्दै आएको स्रोतले बताएकोे छ । त्यसकारण अहिले उनले ५ वर्षपछि भर्ना भएको टोलीसँग एसएसपी बढुवामा प्रतिस्पर्धा गर्दैछन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यसअघि एसएसपीबाट डीआईजीमा बढुवा गर्दा पनि राष्ट्रिय अनुसन्धानबाट आएका नमस्ते टोलीका सिद्धिविक्रम शाह, सुशील सिंह राठोर र उमाप्रसाद चतुर्वेदीहरुलाई स्थान दिएका थिएनन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली एक वर्ष सिनियर भएपनि उनीहरू सबैलाई विभिन्न कारणले गर्दा छुटाएर पछिल्लो टोलीबाट तीन जनालाई डीआईजीमा बढुवा गरेका थिए ।
राष्ट्रिय अनुसन्धान विभागबाट आएका बस्नेत र २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका ८ जना र २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका १३ जना एसपी र एसएसपी बढुवाको प्रतिस्पर्धामा रहेका छन ।
तर, २०५६ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट आएका टोलीका धेरैजसो विवादित अनुहार रहेका छन । उनीहरूमध्ये कारबाहीमा परेकाहरू धेरै छन । यही कारण आफ्नो ब्याचबाट उनीहरू बढुवामा पछि पर्दै आएका छन् । २०५६ को टोलीका एसपी हिराबहादुर पाण्डे यसअघि सिरहामा नेपाली कांग्रेसका नेताको घरमै गएर पेस्तोल ताकेको भन्दै विवादमा परेका थिए ।
२०५८ सालको टोलीका एसपीहरू रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपम शम्शेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर पनि प्रतिस्पर्धामा जुट्दै आएका छन् ।
नेपाल प्रहरीले सकेसम्म निलम्वन र कारवाहीमा नपरेका, विवादमा नमुछिएका, कार्यसम्पादन र मूल्यांकनमा उत्कृष्ट रहेकाहरूको बढुवा गर्ने नीति अख्तियार गरेको बताइएको छ ।
यसपटक एसएसपी बढुवाको सिफारिसमा छुटेकाहरू आगामी २०८१ असार र भदौ महिनामा रिक्त हुने केही पदमा बढुवा हुने लाइनमा रहने छन् । उता, नेपाल प्रहरीका चार प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको लागि सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त बहादुर कुँवरको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले चारजना डीएसपीलाई पनि एसपीमा बढुवाका लागि सिफारिस गरेको छ ।
डीएसपीहरु प्रदीप बहादुर क्षेत्री, नारायण रन्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइरालालाई २०८१ जेठ १८ गते शुक्रवार एसपीमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिसमा परेका चारैजना २०६१ जेठ १५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेको बताइन्छ । उनीहरु चारै जना अधिकृत वरीयतामा अगाडि रहेको बताइएको छ ।