वीरगंज । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले सार्वजनिक गरेको सदस्यता नामावलीमा प्रति पर्साका ४ पत्रकार संगठनले आपत्ति जनाएको छ । पर्साका चार पत्रकार संगठनले मंगलवार संयुक्त रुपमा एक विज्ञप्ती प्रकाशित सदस्यता नामावलीप्रती आपत्ति जनाएको छ । संगठनहरुले यथास्थितीमा पर्सामा निर्वाचन नहुने विज्ञप्ती मार्फत चेतावनी समेत दिएको छ ।
प्रेस विज्ञप्ती मार्फत प्रेस चौतारी नेपाल पर्सा, नेपाल प्रेस युनियन पर्सा,समाजवादी प्रेस संगठन नेपाल पर्सा र प्रेस मंञ्च नेपाल पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सदस्यता नमावली सच्याउँन माग गरेको हो ।
जिल्ला शाखाले सर्वसम्मत रुपमा प्रदेश समिति मार्फत केन्द्रलाई सिफारिस गरेको नामावली विपरित चोर बाटोबाट पटक–पटक सार्वजनिक गरिएका सदस्यता नामावली प्रति हाम्रो गम्भिर ध्यानाकर्षण प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । त्यसैगरी जिल्ला शाखाको सिफारिस विपरित केन्द्रीय समितिले सार्वजनिक गरेको नामावलीमा गैर पत्रकार समेत समावेश गरी ल्याइएको संगठनहरुले विज्ञप्ती मार्फत ठहर गरेको छ ।
विधानतः शाखा र प्रदेशबाट सिफारिस नै नभएका व्यक्तिको नाम समेत आश्चर्य चकित रुपमा केन्द्रले थपेर महासंघको गरीमा समेत घटाएको तथा पर्सामा सिफारिस विपरित कुनै पनि नाम उल्लेख गरी आएमा सो नामावली स्वीकार्य नहुने जानकारी प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संगठनहरुले महासंघ विधि विधानसम्मत चल्दै आएको संस्थाका रुपमा स्थापित रहेको हुँदा कुनै व्यक्ति वा संस्थाको प्रभावमा प्रकृया मिचेर नाम थपघट गर्ने कार्यको छानविन गरी उचित कार्वाहीको माग समेत गरेको छ । नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न केन्द्रिय साधारण सभाबाट पारित सदस्यता शुद्धिकरण अभियानमा हामी पूर्ण प्रतिवद्ध रहेका भन्दै संगठनहरुले विधि विपरितको नामावली नसच्चिएसम्म पर्सामा निर्वाचनको कुनै प्रकृया अगाडी नबढाउने साथै निर्वाचन नहुँदा सृजित हरेक अवस्थाको जिम्मेवार स्वयम् केन्द्रिय समिति नै हुने विज्ञप्ती उल्लेख गरिएको छ ।
प्रकाशित विज्ञप्तीमा नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान,प्रेस चौतारी पर्साका अध्यक्ष विजय भण्डारी ,समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन र प्रेस मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष बिरेन्द्र साह हिटलरले हस्ताक्षर गरेका छन् । यसअघि नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा समाजवादी प्रेस संगठन नेपाल पर्साले तालावन्दी गरेको थियो । जुन अहिले सम्म खोलिएको छैन् ।