वीरगंज । यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय वीरगंजमा आर्थिक चलखेलमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिक्री गर्ने कार्य सुरु भएको छ । यस कार्यालयले सवारी लाइसेन्सका लागि लिखित तथा ट्रायल परीक्षा वा दुबै परीक्षामा फेल भएका व्यक्तिहरूसँग रकमी असुल गरी परीक्षा पास गराउने गरेको छ ।
यातायात व्यवस्था कार्यालय वीरगंजका प्रमुख उमेश रेग्मीले विभिन्न सवारीको लाइसेन्सका लागि अहिले दर तोकेरै रकम असुली गर्न कार्यालयकै कर्मचारी लगायतलाई परिचालन गरेको चर्चाले व्यापकता पाएको छ । कार्यालय प्रमुख गौतमले अवैध लाइसेन्स बिक्री गर्न कार्यालय सहयोगीको रूपमा काम गर्ने शम्भु गुरुङ र कम्प्युटर अधिकृत संजय साह र कम्प्युटर अधिकृत शेख रेजाउल हकलाई परिचालन गरेका छन् ।
यति मात्र नभई तिनै गुरुङ साह र हकको सहयोगमा त्यस कार्यालयमा बेतलबीको रुपमा भर्ना गरिएका केही कर्मचारीहरुलाई समेत परिचालन गरी अवैध आर्थिक सेटिङ्गमा विभिन्न सवारी लाइसेन्सको दररेट तोकेर नै लिखित तथा ट्रायल परीक्षा पास गर्न नसक्नेलाई लाइसेन्स बिक्री गर्दै आएको छ ।
घुसको दररेट तोकेर नै लिखित तथा ट्रायल परीक्षा फेल भएकाहरूलाई लाइसेन्स दिने गरेको उजुरी समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा परेपछि कार्यालयले लाइसेन्स दिन गर्ने गरेको ट्रायल सेन्टरमा कयौँ दिनसम्म अख्तियारको निगरानीमा ट्रायल हुँदै आएको थियो ।
अख्तियारको निगरानी पछि अहिले भने भएको लिखित परीक्षामा करिब ७५ प्रतिशत परीक्षार्थीलाई पास गराइएको छ । जबकी अख्तियार टोलीको निगरानीमा भएको लिखित परीक्षामा सहभागी कुल परीक्षार्थी मध्ये २० प्रतिशत उत्तीणर् भएका थिए । जुन कुल परीक्षार्थी मध्ये पास भएको करिब २० प्रतिशत मात्र हो । लिखित परीक्षा पास भएका परीक्षार्थीहरूले ट्रायल परीक्षामा फेल भएका अधिकांशलाई पास गराउन अहिले दर तोकेर नै रकम असुली भइरहेको नाम नबताउने सर्तमा एक जना त्यस कार्यालयका कर्मचारीले समेत बताएका छन् ।
यस अघि ट्रायलमा समेत कार्यालय प्रमुखका विश्वासपात्र शम्भु गुरुङ , साह र हकले फेल भएका सेवाग्राहीहरूलाई पास गराउन पैसा लिएको भन्दै सार्वजनिक रूपमा पोल खुलेको थियो । यी यावत कुराले समेत रकमी चलखेलमा लिखित वा ट्रायल परीक्षा फेल भएकाहरूलाई आर्थिक चलखेलमा अवैध तरिकाले सवारी लाइसेन्स वितरण गर्ने गरिएको देखिन्छ ।
कार्यालयकै कर्मचारीदेखि दलाल, बिचौलियाहरूलाई परिचालन गरी पहिलेदेखि नै अवैध तरिकाले लाइसेन्स बाँड्नमा सर्वाधिक चर्चा पाएको यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय वीरगंजमा काठमाडौं उपत्यका लगायत अन्यत्रबाट समेत लिखित तथा ट्रायल परीक्षा पास गर्न नसक्नेहरूलाई अवैध लाइसेन्स दिन कार्यालय प्रमुख रेग्मीका विश्वासपात्र तिनै गुरुङ , साह र हकका मार्फत असुली भइरहेको कार्यालय स्रोतले जनाएको छ । जुन कुराले अहिले सर्वाधिक चर्चा पनि बटुलेको छ । स्थायी कर्मचारी नभए पनि वर्षौँदेखि त्यस कार्यालयमा जो कार्यालय प्रमुख आए पनि अवैध तरिकाले लाइसेन्स बिक्री गर्ने बापतको रकम असुली गर्ने मुख्य हर्ताकर्ता नै शम्भु गुरुङ रहेको बताइन्छ ।
आर्थिक सेटिङ्गमा फेल भएकाहरूलाई पास गराउन अवैध आर्थिक लाभ लिन कार्यालय प्रमुख रेग्मी , गुरुङ , साह र हक लगायतका कर्मचारी गिरोह संलग्न रहेको बताइन्छ ।
ट्राफिकको समेत मिलेमतो, असई मुख्य डिजाइनर
सवारी लाइसेन्सका लागि हुने लिखित तथा ट्रायल परीक्षामा यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय वीरगंजका कर्मचारी सहित ट्राफिक प्रहरी कार्यालय पर्साका कर्मचारीको समेत प्रतिनिधिको रूपमा सहभागिता रहेको हुन्छ । सवारी लाइसेन्सका लागि हुने अधिकांश परीक्षामा ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) नै प्रतिनिधिको रूपमा जाने गरेका छन् ।
स्रोतका अनुसार ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशका प्रमुख प्रहरी उपरीक्षक (एसपी) र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख समेतलाई अवैध असुली बापत हिस्सेदारी बुझाउने गरेकोले प्रायः असई नै सवारी लाइसेन्सको परीक्षा र ट्रायलमा प्रतिनिधि पठाउने गरिएको छ ।