काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा सोमबार समिति बैठकले स्वास्थ्य क्षेत्रको सुधार एवं सेवाप्रभावकारीता र गुणस्तर सुधारका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकले स्वास्थ्य मन्त्रालयको ओ एण्ड एम सर्वेक्षण अगाडि बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।
बैठकले बयलपाटा अस्पताल अछामलाई चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट बजेट विनियोजन नभएकाले सञ्चालन व्यवस्थापनमा कठिनाई भएकाले विषेश अनुदानको व्यवस्था गर्नसमेत मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिए।
बैठकले वीर अस्पतालमा रहेका आइसीयु, सीसीयु, भेन्टीलेटरलगायतका युनिटमा जनशक्ति व्यवस्थापन गरी सेवा सुरु गर्नसमेत निर्देशन दिइएको सभापति थापाले बताए। बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि आफू निरन्तर अनुगमनमा गएको जानकारी दिए।
उनले सेवालाई प्रभावकारी बनाउनका लागि आफूले पहल गरे पनि सरोकारवाला निकायका अधिकारीहरूबाट सहयोग प्राप्त नभएको गुनासो गरे। मन्त्री यादवले स्वास्थ्य बीमा कार्यक्रम सन्तोषजनक नदेखिएको भन्दै यसलाई प्रभावकारी बनाइने जानकारी दिए।
समिति सदस्यहरूले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनका लागि मन्त्रालय गम्भीर हुनुपर्ने, स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति राख्नुपर्ने सुझाव दिएका थिए।