बिरगंज ।नेपाल पत्रकार महासंघ मधेश प्रदेशका ८ जिल्ला शाखाहरुले नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले मिति २०८१/०३/०७ गते संध्यायेलामा निर्वाचन तालिकासँगै मतदाता नामावली सार्वजनिक गरेको प्रति संयुक्त प्रेस विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
मधेश प्रदेशका जिल्ला शाखाहरुले सार्वजनिक गरिएको निर्वाचन तालिकामा विधान अनुरुप जिल्ला, प्रदेश र केन्द्रको मनोनयन कार्यक्रम तथा समयावधिको समेत पालना गरिएको नदेखेको जनाएका छन् ।
‘नेपाल पत्रकार महासंघको सुर्खेत साधारण सभाले सदस्यता शुद्धिकरण गर्न समिति बनाउँदै जिल्ला शाखाहरुलाई निर्देशन दिएको सबैलाई अवगत भएकै हो। त्यस अनुरुप देशै भरका शाखाहरुले विभिन्न तनाव खेपेर भए पनि सदस्यता शुद्धिकरण गरेर पठाएको पनि सर्वविदितै छ। तर, केन्द्रले आफूखुशी सदस्यता थप गरी निर्वाचन समितिलाई सदस्यता नामावली बुझाउनु “विधानको वर्खिलाप” हो भन्ने हाम्रो ठहर रहेको छ। यसले केन्द्रीय अध्यक्ष र महासचिव समग्र संस्था भन्दा माथि भएको र निरंकुश बनेको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।
महिना दिनअघि सार्वजनिक गरिएको सदस्यताको सूचीले ठूलो विवाद भई महासंघको केन्द्रिय कार्यालयमा तालावन्दी हुँदा अध्यक्ष विपुल पोखरेलले सूची आधिकारिक होइन भन्दै विज्ञप्ती निकालेको पनि यस सन्दर्भमा यहाँ स्मरण गराउन चाहन्छौं। उक्त विज्ञप्तीमा सदस्यता नामावली सच्याउने प्रतिवद्वता गरेर ताला खुलाईए पनि त्यहीं सूची राखेर निर्वाचन समितिलाई बुझाउनुले केन्द्रले आफ्नो गलत चरित्रलाई आफैं उदांगो पारेको छ । जिल्लाले नै मिहिनेत गर्दै चुनाव गराएपछि केन्द्रीय समिति बन्ने हो। हरेक काम जिल्लाले गर्ने तर केन्द्रले मनोमानी गर्ने प्रवृत्तिले जिल्लाको अधिकारलाई धमिल्याउने प्रयास गरेको पनि स्पष्टै छ । हामी पनि निर्वाचन चाहन्छौं। तर, केन्द्रले बलजफ्ती थपेका नामहरु नहटाई, शुद्धिकरणको नाममा जिल्ला र प्रदेशले गरेको मिहिनेतलाई वेवास्ता गरी थोपरिएको मतदाता नामावली र विधानलाई मिचि प्रकाशित निर्वाचन तालिका अनुसार निर्वाचनका कार्यक्रम अगाडी बढाईए हामी मधेश प्रदेशका जिल्ला शाखाहरुमा निर्वाचन गराउन नसक्ने जानकारी गराउँदछौं, विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा सप्तरी जिल्लाका अध्यक्ष श्रवणकुमार देव,
सिरहा जिल्लाका अध्यक्ष मनोज कुमार वनैता,सर्लाही जिल्लाका अध्यक्ष टंक वहादुर क्षेत्री,रौतहट जिल्लाका अध्यक्ष प्रेमचन्द्र झा,बारा जिल्लाका अध्यक्ष रेशम तिवारी, पर्सा जिल्लाका अध्यक्ष अनुप तिवारी, महोत्तरी जिल्लाका सचिव राजकरण महतो र धनुषा जिल्लाका सचिव वटुकनाथ झाले हस्ताक्षर गरेका छन् ।