बिरगंज । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको सदस्यतामा देखिएको विवादलाई विधान अनुसार टुंगोमा नपुऱ्याई महासंघले निर्वाचन कार्यतालिका र मतदाता नामावली सार्वजनिक गरेको प्रति ५ बुंदे माग जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार महासंघका शाखा र प्रदेशले सिफारिस गरेका सदस्यलाई हटाएर महासंघको केन्द्रीय समितिले कुनै संरचनाले सिफारिस नगरेका गैर पत्रकारलाई समावेश गरेर सार्वजनिक गरिएको मतदाता नामावलीप्रति युनियनको असहमति छ । महासंघकै शाखा र प्रदेश समितिले पठाएको नामावलीलाई आधार मानेर छुटेका सक्रिय पत्रकारलाई महासंघको विधान, विधि, प्रक्रिया र मापदण्ड अनुसार समावेश गरी सदस्यता विवाद टुंग्याएर मतदाता नामावली सार्वजनिक गरी निर्वाचन प्रक्रिया अघि बढाउनुपर्नेमा महासंघले जवरजस्ती नामावली र निर्वाचन तालिका सार्वजनिक गरेकोमा युनियन खेद प्रकट गर्दछ । सदस्यता विवाद सुल्झाएर निर्धारित समयमा निर्वाचनको वातावरण बनाउन युनियन अनुरोध गर्दछ, विज्ञप्तिमा भनिएको छ।
युनियनको माग २४ घण्टा भित्रमा सम्वोधन नगरी पत्रकार महासंघले जवरजस्ती ढंगले एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि वढाएमा प्रेस युनियनले देशभर प्रतिवाद गर्न वाध्य हुने र त्यसवाट उत्पन्न परिस्थितिको जिम्मेवारी स्वयं पत्रकार महासंघले लिनुपर्ने, विज्ञप्तिमा उल्लेख छ ।
नेपाल प्रेस युनियनको मागहरु यस प्रकार रहेका छन :
१. पत्रकार महासंघका शाखा र प्रदेश समितिले विधान वमोजिम सिफारिस गरेका सदस्य कायम गरी मतदाता नामावली सार्वजनिक गर्नुपर्ने ।
२. शाखा र प्रदेशको सिफारिसमा छुटेका सक्रिय पत्रकारलाई उजुरी, प्रमाणका आधारमा महासंघको विधान अनुसार सदस्यता नवीकरण तथा नयाँ सदस्यता दिनुपर्ने ।
३. महासंघको विधान, प्रक्रिया र मापदण्ड विपरित सार्वजनिक गरिएका सदस्यको नाम मतदाता नामावलीवाट हटाउनुपर्ने ।
४. विधि, प्रक्रिया नपुऱ्याई महासंघका सम्वन्धित शाखाको स्वीकृति विना काठमाडौं, भक्तपुर, ललितपुर लगायत देशभर स्थानान्तरण गरिएका सदस्यता खारेज गर्नुपर्ने ।
५ . मतदाता नामावलीको विवाद टुंगाएर मात्र निर्वाचन कार्यतालिका अघि बढाउनुपर्ने ।