पर्सागढी । लगातार दुईपटक स्थगित भएको पर्सागढी नगरपालिकाको ११औं नगरसभा सोमवार सहमतिमा सम्पन्न भएको छ। असार ८ र ९ गते बोलाइएको नगरसभा गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको थियो।
आजको नगरसभा अघि नगरप्रमुख गोकर्ण पाठकले वडाध्यक्ष, सदस्य र कार्यपालिका सदस्यहरूसँग छलफल गरेर सहमति बनाएपछि सञ्चालनमा आएको हो। पर्सागढी नपामा ५० जना नगरसभा सदस्य छन्, जसमा २२ जना पक्ष तथा २८ जना विपक्षमा थिए। उनीहरूले चालू आवमा विनियोजित बजेटमा रु ५० लाख थप हुनुपर्नेलगायतका मागहरू राख्दै दुईपटक नगरसभा बहिष्कार गरेका थिए। पहिलो दिन नगरसभा उद्घाटन कार्यक्रम सकिएपछि बहुमत सदस्यहरूले नगरसभा बहिष्कार गरेपछि स्थगित भएको थियो।
आज पर्सागढी नपाको ११औं नगरसभामा नगरप्रमुख पाठकले आगामी आव २०८१/८२ को लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे। उनले नगरको समृद्धिको लागि जनप्रतिनिधि र नगरवासीसँग सहकार्य गरेर विकास निर्माण कार्य अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे। यसैगरी, नगरमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई निश्शुल्क सेनेटरी प्याड वितरणको व्यवस्था मिलाउने, पठनपाठनको वातावरण सहज बनाउने, स्वास्थ्य शाखाहरूलाई थप गुणस्तरीय बनाउने, गर्भवती महिलाहरूलाई थप सेवाहरू प्रदान गरिने, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको विकासका लागि सङ्घ तथा प्रदेश सरकारसँग समन्वय गर्ने बताए।
यसैगरी नगरसभामा उपप्रमुख पूजा चौधरीले आगामी आवको लागि रु ५१ करोड ४७ लाखको बजेट प्रस्तुत गरिन्।
कार्यक्रममा वडाध्यक्षहरू राजकपूर खवास, वीरेन्द्र चौधरी, सुकमान तामाङ, शेख खुर्सेद, नितेश मिश्र, नवलकिशोरप्रसाद कलवार, शङ्कर रायभर, सुनरीदेवी थरुनी, रामबढाई यादवलगायत वडा सदस्य र कार्यपालिका सदस्यहरू सहभागी थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिकिशोर चन्द्रवंशीले स्वागत र स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद पौडेलले सहजीकरण गरेका थिए।