काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेकोले काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा, लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको मेलम्चीमा २० दशमलव ८ मिलिमिटर पानी परेको छ । यस्तै बाँकेमा १८ दशमलव ८, पर्वतमा १८ दशमलव ४ र म्याग्दीमा १८ दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै ललितपुर, दोलखा, कास्की, धनगढी, धनुषा, कैलाली लगायतका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।
मनसुनी वायु सुदुरपश्चिमको कैलाली–कञ्चनपुर हुँदै पहाड तिर उक्लिदै गएको मौसमविदले बताएका छन् । आजदेखि केही दिन सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षा हुने सम्भावना रहेको छ । मनसुनी प्रणाली पर्सि बिहीवारसम्म नै सक्रिय हुने र मौसममा सुधार नआउने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
ठूलो पानी पर्ने ठाउँमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।