वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगंजस्थित श्री निरञ्जन साह कलवार आधारभूत विद्यालयकी कक्षा ५ मा अध्ययनरत छात्रा सुधा कुमारी एक दिनका लागि वडाअध्यक्ष बनेकी छिन् । उनलाई मानार्थ वडाअध्यक्षको रुपमा एकदिनका लागि यो अवसर प्रदान गरिएको हो ।
यो कार्यक्रमको उद्देश्य छात्राको मनोबल बृद्धि गर्नुका साथै आजका विद्यार्थी नै भोलीका जनप्रतिनिधि बन्न सक्छन् भन्ने आत्मविश्वास बढाउनु रहेको वडा नम्बर २० का वडाअध्यक्ष रामकिशोर सिंह परागले बताए ।
वडाअध्यक्ष बनेकी सुधा कुमारीले श्री निरञ्जन साह कलवार आधारभूत विद्यालय हरपतगंज, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय अपौनी र हरपतगंज स्वास्थ्य चौकीको अनुगमन तथा निरीक्षण गरेकी छन् । उनले विद्यालयका शैक्षिक गतिविधिहरु, विद्यार्थीहरुको उपस्थिति र विद्यालयका भौतिक पूर्वाधारको स्थिति बुझेकी छन्।
यस अवसरमा सुधा कुमारीले शिक्षा क्षेत्रको सुधारको आवश्यकता, विद्यार्थीहरुलाई थप सुविधा र स्वास्थ्य चौकीको सुधारका लागि केही सिफारिसहरु समेत प्रस्तुत गरिन् । विद्यालय र स्वास्थ्य चौकीमा उपलब्ध सुविधाहरुको अनुगमनपछि उनले स्थानिय बासिन्दाहरुको समस्या तथा सुधारका उपायहरुबारे छलफल गरेकी छिन् ।
यसले बालबालिकाहरुमा नेतृत्वदायी क्षमता विकास हुने र उनीहरुमा सामाजिक सेवामा रुचि जागृत गराउन सहयोग पुग्ने वडाअध्यक्ष रामकिशोर सिंह परागको विश्वास छ ।
कार्यक्रमको अन्त्यमा सुधा कुमारीलाई वडाअध्यक्ष परागले प्रमाणपत्र वितरण गर्दै उज्ज्वल भविष्यको कामना गरे । यस अवसरमा विद्यालयका शिक्षक, अभिभावक, तथा स्थानिय बासिन्दाहरुले पनि सुधा कुमारीलाई बधाई तथा शुभकामना दिएका थिए ।