मुटुको रक्त प्रवाहित गर्ने धमनीहरूमा रोकावट आउँदा त्यहाँ रक्त सञ्चार अवरुद्ध हुन्छ । जसकारण मांसपेशीहरू मर्न थाल्छन् र मुटुको क्रिया प्रभावित हुन्छ । यसैलाई हार्ट अट्याक अर्थात् हृदयघात भनिन्छ । हृदयघात आकस्मिक दुर्घटना हो । हृदयघात हुनु भनेको मुटुको कार्य सञ्चालनमा अकस्मात अवरोध पैदा हुनु हो ।
एक पटक हृदयघात भइसकेको बिरामीलाई दोहोरिने सम्भावना उच्च हुन्छ । त्यसैले बिरामीहरू सचेत हुनुपर्छ । चिकित्सकले दिएको औषधि छुटेको छ भने त यस्तो सम्भावना झन् बढी हुन्छ ।
बिरामीको जीवनशैली निष्क्रिय छ, तौल नियन्त्रणमा छैन, कोलेस्टेरोल, मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा छैन भने पनि हृदयघात दोहोरिने सम्भावना हुन्छ । साथै धुम्रपान, मद्यपान र तनावले पनि हृदयघातको सम्भावनालाई बढाउन सक्छ ।
दोस्रो हृदयघातको जोखिम कम गर्न ध्यान दिनुपर्ने कुरा
चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने
मुटु, कोलेस्टेरोल र रक्तचापका औषधिहरू मुटु स्वास्थ्यको महत्त्वपूर्ण भाग हो । यी समस्यालाई नियन्त्रणमा राख्न चिकित्सकको सल्लाहअनुसार औषधिको सेवन गर्नैपर्छ । उच्च रक्तचाप, मुटुको समस्या भएका व्यक्तिले चिसकत्सकले बोलाएको समयमा फलोअपमा पनि जानुपर्छ ।
धुम्रपान छोड्ने
धुम्रपान नगर्दा हृदयघातको जोखिमलाई आधा घटाउन सकिन्छ । त्यसैले हृदयघातबाट बच्न धुम्रपान छोड्नैपर्छ । त्यसका लागि धुम्रपान छोड्न मद्दत गर्ने औषधिहरूको बारेमा चिकित्सकसँग सल्लाह गर्न सकिन्छ ।
स्वस्थ आहार
स्याचुरेटेड फ्याट र ट्रान्स फ्याट घटाएर खराब कोलेस्टेरोल र ट्राइग्लिसराइड स्तर कम गर्न सकिन्छ । यिनीहरू हृदयघात निम्त्याउने प्राथमिक कुरामध्ये एक हुन् । यस्ता खराब फ्याट कम गर्न धेरै तारेको, भुटेको र प्याकेट बन्द खानेकुरा कम सेवन गर्नुपर्छ । यस्ता खानेकुरालाई दैनिक आहारबाट हटाएर हृदयघातको जोखिमबाट बच्न सकिन्छ ।
कोलेस्टेरोल नियन्त्रण गर्ने
कोलेस्टेरोल नियन्त्रण गर्न खराब खानपानशैली परिवर्तन गर्नुक साथै नियमित रुपमा व्यायाम पनि गर्नुपर्छ । खानपान र व्यायाम गर्दा पनि कोलेस्टेरोल नियन्त्रण भएको छैन भने चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ । कोलेस्टेरोल नियन्त्रणमा राखेर पनि हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ ।
नियमित व्यायाम गर्ने
हृदयघातको जोखिम कम गर्न व्यायाम महत्त्वपूर्ण छ किनभने यसले हृदयको मांसपेशीलाई बलियो बनाउँछ । साथै यसले ऊर्जाको स्तर बढाउँछ र तौल व्यवस्थापन, कोलेस्टेरोल र रक्तचाप नियन्त्रणमा पनि मद्दत गर्छ ।
मुटुलाई स्वस्थ राख्न र हृदयघातको जोखिमबाट बच्न दैनिक कम्तीमा ३० मिनेट हिंड्नु राम्रो हुन्छ । पहिले हृदयघात भइसकेको व्यक्तिले व्यायाम गर्नुअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।
तौल नियन्त्रण गर्ने
मोटोपनले दोस्रो हृदयाघातको जोखिम बढाउँछ । तौल नियन्त्रणमा राख्न चिकित्सकको सल्लाह लिनुपर्छ ।
बडी मास इन्डेक्स (बीएमआई)ले स्वस्थ मानिसको उचाइअनुसारको वजन कति हुनपर्छ भन्ने जनाउँछ । बीएमआई निकाल्नका लागि मानिसको उचाइ मिटरमा र तौल किलोमा नाप्नुपर्छ । अब उचाइमा आएको मिटरलाई दुई पटक गुना गरेपछि आउने प्रतिफलले तौललाई भाग गर्दा आउने अंक बडी मास इन्डेक्स हो ।
उच्च रक्तचाप नियन्त्रण गर्ने
हृदयघातलाई दोहोरिने जोखिम कम गर्न रक्तचापलाई पनि नियन्त्रणमा राख्नुपर्ने हुन्छ । चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गरेर र जीवनशैली परिवर्तन गरेर रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ ।
मानसिक स्वास्थ्यमा ध्यान दिने
डिप्रेसन, तनाव, चिन्ता र क्रोधले मुटु र समग्र स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । त्यसैले मानसिक समस्याबाट बच्न तनावलाई व्यवस्थापन गर्नुपर्छ । पर्याप्त मात्रामा निदाउनुपर्छ । केही समस्या देखा परे चिकित्सकको सल्लाह लिनुपर्छ ।
मधुमेह नियन्त्रण गर्ने
मधुमेह नियन्त्रणमा छैन भने पुन: हृदयघात हुने सम्भावना उच्च हुन्छ । ब्लड सुगर नियन्त्रणमा भयो भने कोरोनरी धमनीहरूमा क्षति हुन पाउँदैन । यसले रक्तनलीहरूलाई साँघुरो हुनबाट पनि रोक्न सक्छ ।