काठमाडौँ । एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी तीन वर्षभित्रमा गर्न सकिने राजनीतिक, आर्थिक, शैक्षिकलगायत जनसरोकारका विषय समेटेर ९९ बुँदे सुझाव दिएको छ । पार्टी अध्यक्षसमेत रहेका ओलीले सरकारको नेतृत्व लिएलगत्तै मन्त्रालयको कामलाई प्रभावकारी बनाउने उद्देश्यले उपमहासचिव प्रदीप ज्ञवाली संयोजक रहेको कार्यदलले तयार पारेको सुझाव शुक्रबार प्रधानमन्त्रीलाई बुझाइएको हो ।
प्रधानमन्त्री ओलीलाई बुझाइएका सुझावहरूमा यसै वर्षको बजेटको दायराभित्र सञ्चालन गर्न सकिने, मन्त्रालयले गर्नुपर्ने नीतिगत र कानुनी सुधार, सेवा प्रवाह र विकास निर्माणमा देखिएका अवरोध र समाधानका उपाय समेटिएको ज्ञवालीले बताए । ‘सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुनेछ,’ उनले भने, ‘ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइनेछ ।’
मुलुकको आर्थिक समृद्धि, सामाजिक सुधारका साथै राजनीतिक स्थायित्वका लागि आवश्यक कानुनी सुधार गर्न पनि कार्यदलले सुझाव दिएको छ । ‘राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीसम्बन्धी संविधानका व्यवस्था र राजनीतिक दलसम्बन्धी कानुनको पुनरावलोकन गर्न, आवश्यकताअनुसार संशोधन गर्न र विद्युतीय मतदानको व्यवस्था गर्न जरुरी छ,’ सुझावमा भनिएको छ, ‘दक्षिणपन्थी र प्रतिगमनकारी कित्ताबाट उठेका व्यवस्था परिवर्तनका माग र उग्र जातिवाद र क्षेत्रीयतावादको चुनौतीलाई चिर्न पनि उत्तिकै आवश्यक छ ।’
सुझावमा संघ र प्रदेशबीच बाझिएका अधिकार समाधान गर्ने गरी कानुन निर्माणमा जोड दिइएको कार्यदलका अध्यक्ष ज्ञवालीले बताए । ‘संविधानको साझा सूचीमा रहेका अधिकारको बाँडफाँटसम्बन्धी बाँकी कानुन अविलम्ब निर्माण गर्न, स्थानीय तहमा जाने समानीकरण अनुदान कटौती नगर्न, स्थानीय तहको क्षमता अभिवृद्धि गर्न तथा संघीय निजामती ऐन अविलम्ब पारित गर्न पनि सुझाव दिइएको छ,’ उनले भने ।
एमालेले ‘मिसन ०८४’ पूरा गर्न अघि सारिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’ मार्गचित्रसहित सुझावहरू तयार गरेको हो । पार्टीका २८ विभागले विज्ञसँग छलफल गरी यी सुझाव तयार पारेको ज्ञवालीको भनाइ छ । ‘समृद्ध नेपाल र सुखी नेपालीको महान् आकांक्षा प्राप्तिका लागि वैदेशिक पुँजी, प्रविधि तथा ज्ञान स्वदेश भित्र्याएर यस अभियानलाई तीव्रता दिनुपर्नेछ,’ उनले भने, ‘प्रतिस्पर्धात्मक विश्व व्यवस्थामा बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याउने, द्विपक्षीय र बहुपक्षीय व्यापार वृद्धि गरी प्रविधि आयात गर्ने काममा हाम्रो कूटनीतिक प्रयासलाई हरेक हिसाबबाट प्रभावकारी र दक्ष बनाई सोहीअनुसार परिचालन गर्न जरुरी छ ।’