भनिन्छ, राम्रो स्वास्थ्यका लागि खाना र व्यायाम जत्तिकै आराम पनि आवश्यक हुन्छ । मान्छे अधिकांश समय क्रियाशील हुन्छ, कडा मेहनत गरिरहेको हुन्छ । यसरी क्रियाशील हुँदा प्रतिमिनेट हजारौंको संख्यामा कोषिकाहरु नष्ट हुन्छन् । दिनभरि काम गर्दा लाखौंको संख्यामा कोषिका नष्ट हुन्छ ।
कोषिका नष्ट हुनेसँगै थोरै मात्रामा निर्माण पनि हुन्छ तर धेरै ऊर्जा काममा खर्च भएको हुनाले नष्ट भएको कोषिकाको ठाउँमा नयाँ कोषिका बन्न पाउँदैन । तर जब हामी आराम गर्छौं, त्यो बेला ऊर्जा खर्च हुँदैन र शरीरले नयाँ कोषिका बनाउन पाउँछ ।
दिनभरि काम गरेर अर्को दिन कामका लागि ऊर्जा प्राप्त गर्न आरामको आवश्यकता पर्छ । आराम शरीरका लागि धेरै महत्त्वपूर्ण हुन्छ, यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र रोगहरूबाट बचाउँछ । शरीरलाई ऊर्जा दिन पनि आराम पनि आवश्यक हुन्छ, यदि शरीर र दिमागलाई ऊर्जा दिने हो भने आराम गर्नुपर्छ । आरामले शरीरलाई ऊर्जा दिन्छ र थकित नभई लामो समयसम्म काम गर्न सकिन्छ । यदि काम मात्र गरियो आराम गर्ने समय छुट्याइएन भने स्वास्थ्य समस्या निम्तन सक्छ ।
तनाव कम गर्न पनि आराम चाहिन्छ । तनाव कम गर्न चाहनुहुन्छ भने अवश्य आराम गर्नुपर्छ । एकाग्रता तथा शक्ति बढाउन आराम आवश्यक पर्छ, एकाग्रताका लागि शरीर र मनलाई शान्त बनाउन आवश्यक छ, यदि मन शान्त छैन भने कुनै पनि काममा एकाग्र हुन सकिंदैन ।
चिन्तामणि गौतम, योग प्रशिक्षक
स्वस्थ रहन समय-समयमा खाना खानुपर्छ भनिरहँदा खाना खान भोक पनि लाग्नुपर्यो । त्यस्तै शरीरलाई आराम चाहिन्छ भनिरहँदा आराम आवश्यक पनि हुनु जरुरी छ । त्यसका लागि शरीरलाई परिचालन गर्नु क्रियाशील राख्नुपर्छ ।
आरामको अर्थ सुत्नु वा पूर्ण निद्रा मात्र होइन, शरीर र दिमागलाई धेरै तरिकाले आरामको आवश्यक हुन्छ ।
स्वस्थ रहन तीन प्रकारको आराम चाहिन्छ
शारीरिक आराम
शरीरलाई हरेक दिन आराम चाहिन्छ । शारीरिक आरामलाई पनि दुई भागमा विभाजित गर्न सकिन्छ । एउटा छोटो अवधिको आराम र अर्को लामो अवधिको आराम । छोटो अवधिको आराम भन्नाले कामको अवधिमा हुने चिया ब्रेक, खाजा ब्रेक आदि हो । त्यो बेला पनि कामबाट केही आराम मिल्दा शरीरमा केही ऊर्जा संगठित हुन्छ । सक्रिय अवस्थामा योग, स्ट्रेचिङ वा कुनै मसाज थेरापी गरेर शरीरलाई आराम दिन सकिन्छ ।
अर्को लामो अवधिको आराम भन्नाले दिनभरि कामको थकान छोटो समयको आरामबाट मेटिंदैन, त्यसैले प्रकृतिले नै रात बनाएको छ रातको समयमा आराम गर्नुपर्छ । हरेक दिन सातदेखि आठ घण्टा सुत्नुपर्छ । निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीको नवीकरण हुन्छ । निद्रा पुगेन भने तिनमा असर पर्छ । लामो समयको आरामले क्षति भएका कोषिकाहरु बन्ने, ऊर्जा प्रदान गर्ने, शरीरको रोगप्रतिरोधात्मक क्षमता बढ्ने हुन्छ ।