विश्व खेलकुदको सर्वाधिक ठुलो प्रतियोगिता ओलम्पिकको औपचारिक सुरुवात शुक्रबारबाट हुँदैछ। फ्रान्सको राजधानी पेरिसमा १०० वर्ष लामो प्रतीक्षापछि सर्वाधिक ठूलो ‘मल्टी स्पोर्ट्स’ प्रतियोगिताको आयोजना पेरिसले गर्न लागेको हो। यसअघि पेरिसमा १९२४ को ओलम्पिक आयोजना भएको थियो।
यो पटक ओलम्पिक खेलमा २ सय ६ देशका १० हजार ७१४ खेलाडीले सहभागिता जनाउँदैछन्। यो प्रतियोगिताका लागि नेपालबाट पाँच खेलका ७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। ओपनिङ समारोह नेपाली समयअनुसार आज राति ११:१५ मा सुरु हुनेछ।
ओपनिङ समारोहमा २ सय ६ देशका १०५०० खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ। भव्य समारोह २ घण्टा चल्ने छ।
इतिहासमा पहिलो पटक स्टेडियम बाहिर उद्घाटन
ओलम्पिकको १ सय २९ वर्षे इतिहासमा पहिलो पटक ओपनिङ समारोह स्टेडियम बाहिर हुँदैछ। पेरिसको चर्चित सीन नदीमा प्रतियोगिताको उद्घाटन समारोह सुरु हुनेछ। सीन नदीमा डुंगाको माध्यमबाट २ सय ६ देशका १० हजार ५०० खेलाडीले परेड गर्नेछन्। जहाँ सहरको बीचभागमा उद्घाटन समारोहको आयोजनाहरू हुनेछन्। ६ किलोमिटर लामो परेड हेर्नका लागि कीर्तिमानी ३ लाख दर्शक पुग्ने अनुमान गरिएको छ।
कसरी हुँदै छ ओपनिङ समारोह?
राति ११:१५ मा सुरु हुने समारोह स्टेडियम बाहिर नदी र सडकहरूमा आयोजना हुँदैछ। सीन नदीबाट सुरु हुने ६ किलोमिटर लामो परेड ट्रोकेडारो गार्डेनसम्म चल्ने छ, जसमा १० हजार बढी खेलाडीहरू रहने छन्।
उद्घाटन समारोह हेर्नका लागि १ सय २० देशका नेता तथा प्रशासनिक अधिकारीहरू पेरिस पुग्नेछन्। परेड सकिएपछि केही समय फ्रान्सेली कल्चर देखाउने नृत्य तथा गायन प्रस्तुतिहरू रहनेछन्। समारोह करिब २ घन्टा चल्ने छ। फ्रान्सले २०२४ को ओलम्पिकको स्लोगन ‘गेम्स वाइड ओपन’राखेको छ। जसको अर्थ खेल पूर्णरूपमा खुल्ला छ भन्ने हुन्छ।
उद्घाटन समारोहमा फरक के छ?
सबै खेलाडीहरू (१० हजार ५००) लाई करिब १०० वटा डुंगामा राखेर उद्घाटनको हिस्सा बनाइने छ, जहाँ २ सय ६ देशको ओलम्पिक झन्डामुनि रहेर खेलाडीले डुंगामा सयर गर्नेछन्। डुंगामा क्यामेराहरू जडान गरिएको छ, जसबाट हरेक देशका खेलाडीहरूलाई टिभी तथा अनलाइनमा देखाउन सकियोस्।
परेडमा खेलाडीहरूलाई सीन नदीमा डुंगामा राखेर सहरको परिक्रमा गराउँदै ट्रोकेडारो गार्डेनसम्म पुर्याइने छ। यहाँ ओपनिङ समारोहको अन्तिम कार्यक्रमहरू हुनेछन्। इतिहासमा पहिलो पटक चर्चित सीन नदीमा प्रतियोगिता आयोजना हुँदै गर्दा कल्चरल प्रोग्रामसमेत पहिलो पटक आयोजना हुन लागेको हो।
नदी प्रदूषणरहित रहेको सन्देश दिन मेयरले खेले पौडी
नदीको शुद्धताका विषयमा प्रश्न नउठोस् भन्न र नदी प्रदूषित नभएको सन्देश दिन पेरिसका मेयर एनी हिडाल्गोले सीन नदिमा पौडी खेलेका छन्। उनले आफ्ना साथीहरूसँग पौडिँदै प्रतियोगिता आयोजनाका लागि कुनै खालको अवरोध नरहेको सन्देश दिए। उनले सीन नदिमा रचिन लागेको इतिहासलाई गौरवान्वित बनाउने बताए।
फ्रान्सका सञ्चारमाध्यमहरूले इतिहासकै सर्वाधिक ठूलो ओलम्पिक उद्घाटन हुने दाबी गरेका छन्। उनीहरूले ३ देखि ४ लाख समर्थकहरूले प्रत्यक्ष उपस्थित भएर उद्घाटन समारोहको मज्जा लिने बताएका छन्।
यो पटक इतिहासमै पहिलो पटक नदीमा उद्घाटन समारोह हुँदा पेरिसको सडकमा पर्फमेन्सहरू हुनेछन्। परेड अफ नेसन्सका लागि पहिलो पटक डुंगा प्रयोग हुँदै गर्दा ३ लाख बढी समर्थकको उपस्थिति रहने छ। साथै इतिहासको सर्वाधिक ठूलो उद्घाटन समारोहका रूपमा रहने दावी गरिएको छ।
करिब १ अर्ब ५० करोडले हेर्ने अनुमान
यो उद्घाटन समारोहका लागि सीन नदीकाे माथिल्लो भागबाट हेर्नका लागि २ लाख २२ हजार टिकट निशुल्क उपलब्ध हुँदा तल्लो भागमा बसेर हेर्नका लागि १ लाख ४ हजार टिकट श-शुल्क वितरण गरिएको छ। यो पहिलो यस्तो उद्घाटन समारोह हो जहाँ अधिकांस दर्शकले निशुल्क उद्घाटन समारोह हेर्न पाउँदैछन्।
यो पेरिस ओलम्पिक र विश्वका लागि समेत नयाँ कोसेढुंगाका रूपमा रहने छ। साथै यो प्रतियोगिताको उद्घाटन समारोह विश्वभर टेलिभिजन र अनलाइनमार्फत १ अर्ब ५० करोड मानिसले हेर्ने अनुमान गरिएको छ।